
विराटनगर । प्रमुख र उपप्रमुखबीचको आन्तरिक कलहका कारण सुनसरीको धरान उपमहानगरपालिकाले आर्थिक वर्षको बजेट ल्याउन सकेको छैन। संविधानअनुसार स्थानीय तहहरूले बजेट पेश गर्ने अन्तिम दिन आज भए पनि धरानमा बजेट अनिश्चित बनेको हो।
बजेट प्रक्रियामा अवरोध
उपप्रमुख अइन्द्रविक्रम बेघाले उपमहानगरपालिकाको बजेट प्रक्रिया प्रमुख हर्क साम्पाङ नेतृत्वको बजेट सीमा निर्धारण समितिको बैठक बस्न नसक्दा रोकिएको बताउनुभयो। उहाँका अनुसार, बजेट आज आउनुपर्ने भए पनि प्रमुखले प्रक्रिया अगाडि नबढाएकाले नगरसभा बस्न सकेन।
बजेटका लागि राजस्व परामर्श समितिले १ अर्ब ६० करोड रुपैयाँको सीमा दिएको थियो। अब सीमा निर्धारण समितिको बैठकले वडा र विषयगत सिलिङ तोकेपछि मात्र बजेट तर्जुमा समितिले बजेट निर्माणको प्रक्रिया अगाडि बढाउँछ। तर, प्रमुखको नेतृत्वमा रहेको सीमा निर्धारण समितिको बैठक नै बस्न सकेको छैन।
कार्यपालिका बैठकमा पनि समस्या
उपप्रमुख बेघाका अनुसार, सीमा निर्धारण समितिको बैठक नबसेपछि कार्यपालिका बैठक बस्ने अवस्था पनि छैन। कार्यपालिकाले बजेट पास गरेपछि मात्र नगरसभामा पेश गर्न सकिन्छ। हाल बजेट नै अन्योल अवस्थामा रहेको उनले बताए ।
श्रमदान विवादको असर
करिब एक साताअघि मेयर र उपमेयरबीच श्रमदान विवादलाई लिएर मतभेद भएको थियो। सोही विवादका कारण बजेट सीमा निर्धारण समितिको बैठक बस्न नसकेको बताइएको छ । यसले गर्दा धरान उपमहानगरपालिकाको विकास निर्माण र सेवा प्रवाहमा प्रत्यक्ष असर पर्ने देखिएको छ ।