बुटवल उपमहानगरपालिकाले ल्यायो ३ अर्ब ३६ करोडको बजेट: शिक्षा, स्वास्थ्य, रोजगार र पर्यटनमा विशेष जोड

काठमाडौँ । बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३ अर्ब ३६ करोड १३ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ।

सोमबार नगर सभाको १७औँ अधिवेशनको तेस्रो बैठकमा उपप्रमुख सावित्रादेवी अर्यालले यो बजेट प्रस्तुत गरेकी हुन्। प्रस्तुत बजेटमा चालुतर्फ ४९ प्रतिशत र पुँजीगततर्फ ५१ प्रतिशत रहने अनुमान गरिएको छ। बुटवलले आन्तरिक स्रोतबाट आगामी आर्थिक वर्षमा ९५ करोड आय हुने अनुमानसमेत पेस गरेको छ।

प्राथमिकताका क्षेत्र र मुख्य कार्यक्रमहरू

बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन र कृषि लाई विशेष प्राथमिकतामा राखेको छ।

रोजगार प्रवर्द्धन:

‘पढाइसँगै रोजगार सिर्जना गरौँ, युवालाई देशमै बस्ने परिस्थिति निर्माण गरौँ’ भन्ने उद्देश्यका साथ ट्राफिक व्यवस्थापनमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरूलाई खटाउने कार्यक्रमलाई प्राथमिकता दिइएको छ। यसका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको छ।

गृहिणी महिलाहरूलाई रोजगारसँग जोड्ने कार्यक्रमका लागि ३ करोड रुपैयाँ र उद्यमी महिलाहरूका लागि ७० लाख रुपैयाँ छुट्याइएको छ।

परम्परागत सीपलाई प्रवर्द्धन गर्न सीप विकास केन्द्र सञ्चालन गरिनेछ। दलित समुदायका परम्परागत पेसालाई सीप विकास केन्द्रका रूपमा सञ्चालन गर्न ८५ लाख रुपैयाँ विनियोजन गरिएको छ।

निजी क्षेत्रसँग सहकार्य:

‘बुटवलको सपना, निजी क्षेत्रसँगको सहकार्यमा बुटवलको समृद्धिको परिकल्पना’ भन्ने मर्मसहित निजी क्षेत्रसँग सहकार्य गरी कार्यक्रम सञ्चालनका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको छ।

कालिकापथ, अमरपथ र ट्राफिक चोकमा रात्रीकालीन बजार सञ्चालनका लागि ५० लाख रुपैयाँ विनियोजन भएको छ।

पर्यटन प्रवर्द्धन र सांस्कृतिक सहर:

बुटवललाई पर्यटकीय विश्रामस्थलका रूपमा स्थापित गर्न पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्न ५० लाख रुपैयाँ र बुटवललाई सांस्कृतिक सहर बनाउनका लागि १ करोड १५ लाख रुपैयाँ छुट्याइएको छ।

जितगढी किल्ला नजिकै आरती केन्द्र निर्माणका लागि ५ करोड रुपैयाँ विनियोजन गरिएको छ। ‘घुमौँ बुटवल’ अभियानअन्तर्गत यसै आर्थिक वर्षलाई बुटवल भ्रमण वर्ष घोषणा गरी आन्तरिक र बाह्य पर्यटकको आगमन वृद्धि गर्ने अभियान सञ्चालन गरिनेछ।

शिक्षा सुधार:

विद्यालयहरूको सुधार र न्यूनतम मापदण्ड पूरा गर्नका लागि ६ करोड रुपैयाँ विनियोजन गरिएको छ। छात्राहरूलाई निःशुल्क अध्ययनको व्यवस्था मिलाउने ‘छोरी पढाऔँ’ कार्यक्रमका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको छ।

विपन्न वर्गका बालबालिकाको पोसाक र शैक्षिक सुधारका लागि ३० लाख रुपैयाँ छुट्याइएको छ।

सामुदायिक विद्यालयमा डिजिटल लर्निङ पोर्टल र कम्प्युटर शिक्षा सुधारका लागि १ करोड रुपैयाँ, तथा स्थानीय पाठ्यक्रमलाई सुधार गर्ने कार्यका लागि ७० लाख रुपैयाँ बजेट छुट्याइएको छ।

४० जना छात्राहरूलाई निःशुल्क प्राविधिक शिक्षा अध्ययनको व्यवस्था गरिनेछ।

स्वास्थ्य सेवा:

ज्येष्ठ नागरिक र असहायहरूलाई घरदैलोमा स्वास्थ्य सेवा पुर्याउने ‘बाआमासँग नगर प्रमुख’ कार्यक्रम सञ्चालनका लागि ९० लाख रुपैयाँ विनियोजन गरिएको छ।
महिलाहरूको पाठेघर, स्तन क्यान्सर, भिडियो एक्सरे र अन्य स्वास्थ्य परीक्षणका लागि ३० लाख रुपैयाँ छुट्याइएको छ। बुटवल १३ र १७ मा निर्माण भएका अस्पताल सञ्चालन तथा व्यवस्थापनका लागि ६० लाख रुपैयाँ बजेट छुट्याइएको छ।

वातावरण र पूर्वाधार:

नगरलाई सफा र स्वच्छ राख्न ‘मेरो टोल म सफा गर्छु’ कार्यक्रम सञ्चालनका लागि ७० लाख रुपैयाँ विनियोजन गरिएको छ। झुम्सा खानेपानी बुटवलमा ल्याउनका लागि पाल्पाको तिनाउ गाउँपालिकाको मुहान क्षेत्रको विकासका लागि २ करोड रुपैयाँ विनियोजन गरिएको छ। बुटवल क्षेत्रको मुख्य सडक र भित्री सडकहरूलाई हरियाली बनाउँदै सौन्दर्यीकरण गर्न ३ करोड रुपैयाँ छुट्याइएको छ।

गौशाला व्यवस्थापनका लागि १ करोड रुपैयाँ विनियोजन भएको छ। शिवनगरमा रहेको गौशालाको व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै बुटवल १२ चारपाला सामुदायिक वनमा बहुउद्देश्यीय कामधेनु गौशाला तथा अन्य आवश्यक स्थानमा गौशाला स्थापना गरिनेछ।

कृषि क्षेत्र:

कृषि सुधार कार्यक्रमअन्तर्गत ‘बुटवलका किसान हाम्रो सान’ कार्यक्रमका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको छ । किसानका समूहलाई उपकरण खरिदमा अनुदान दिनका लागि १ करोड रुपैयाँ, र दुग्ध उत्पादक किसानहरूलाई प्रोत्साहन स्वरूप अनुदान दिनका लागि ५० लाख रुपैयाँ छुट्याइएको छ।

अव्यवस्थित बसोबास व्यवस्थापन:

अव्यवस्थित बसोबास र सुकुम्बासी क्षेत्रको नापजाँचको व्यवस्थापनका लागि १ करोड ५० लाख रुपैयाँ र पुनः नापी गर्नका लागि २ करोड रुपैयाँ विनियोजन भएको छ। यी प्राथमिकता र कार्यक्रमहरूले बुटवलको समग्र विकास र जनजीवनको गुणस्तर सुधार गर्ने लक्ष्य राखेको देखिन्छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै