
कास्की । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि करिब साढे ८ अर्बको बजेट ल्याएको छ ।
पोखरा महानगरपालिकाको १७ औं नगरसभामा उपप्रमुख मञ्जुदेवी गुरुङले आर्थिक वर्ष २०८२/८३ का लागि ८ अर्ब ३५ करोड १२ लाख रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् । यो चालु आर्थिक वर्षको बजेटभन्दा ८३ करोड ८० लाख रुपैयाँले बढी हो ।
चालु आर्थिक वर्ष २०८१/८२ मा पोखरा महानगरपालिकाले ७ अर्ब ५१ करोड ३२ लाखको बजेट ल्याएको थियो। तर जेठ मसान्तसम्म ४ अर्ब १६ करोड ५२ लाख ६४ हजार अर्थात् ५५.४३ प्रतिशत मात्रै खर्च भएको महानगरले जनाएको छ।
चालु खर्च र पुँजीगत खर्च कति/कति हुने हो भन्नेबारेमा बजेटमा उल्लेख छैन। विनियोजित बजेटमा खर्च व्यहोर्ने स्रोतहरूमा संघीय सरकारको अनुदानबाट ३ अर्ब १ करोड ८१ लाख अर्थात् ३६.१३ प्रतिशत तथा आन्तरिक आयबाट ५ अर्ब २३ करोड ३१ लाख अर्थात् ६३.८७ प्रतिशत बेहोरिने उपप्रमुख गुरुङले बताइन्। बजेटमा आन्तरिक राजस्व परिचालनतर्फ कर क्षेत्रको अंश ३ अर्ब २३ करोड ७२ लाख २७ हजार अर्थात् ६१.८६ प्रतिशत रहेको उल्लेख छ।
महानगरले सधैंझैं यस वर्ष पनि पूर्वाधार निर्माणमा सबैभन्दा धेरै बजेट विनियोजन गरेको छ। आइतबार प्रस्तुत बजेटमा २ अर्ब ३३ करोडभन्दा बढी बजेट पूर्वाधारका लागि विनियोजन गरिएको छ। यो कुल बजेटको ४४.६४ प्रतिशत हुन आउँछ।
त्यस्तै, महानगरले वडा कार्यालयमार्फत खर्च गर्न १ अर्ब अर्थात् १९.१६ प्रतिशत बजेट विनियोजन गरेको छ भने नगर कार्यपालिकाको कार्यालयमार्फत ९५ करोड अर्थात् १८.१९ प्रतिशत, सामाजिक विकासमा ३८ करोड अर्थात् ७.२८ प्रतिशत बजेट विनियोजन गरेको उपप्रमुख गुरुङले बताइन्।
उनले आगामी आर्थिक वर्षका लागि आर्थिक विकासमा १८ करोड अर्थात् ३.४५ प्रतिशत, र शहरी विकास, पर्यटन, वन तथा वातावरणमार्फत ३८ करोड अर्थात् ७.२८ प्रतिशत बजेट विनियोजन गरेको उल्लेख गरिन्। पर्यटनको राजधानी पोखराको पूर्वाधार निर्माणमा केन्द्रित गर्नेगरी बजेट ल्याएको उपप्रमुख गुरुङले बताइन्। जसका लागि सडक निर्माणदेखि पर्यटकीय पूर्वाधार विकास गर्ने बजेटमा उल्लेख छ।
त्यस्तै, पर्यटन प्रवर्द्धनलाई जोड दिइएको छ। पोखरा भ्रमण चलिरहँदा त्यसलाई टेवा पुग्नेगरी बजेट विनियोजन गरिएको छ।
बजेटमा उत्पादनमूलक व्यवसायिक कृषि प्रणालीको विकास, हरित उत्थानशील र दिगो पूर्वाधार विकास, व्यवस्थित शहरीकरणको विकास, समानुपातिक विकास प्रक्रिया अवलम्बन, सार्वजनिक सम्पत्तिको संरक्षण गर्दै उत्पादनशील उपयोग, वातावरण संरक्षण तथा फोहोरमैला व्यवस्थापन, समावेशी, सन्तुलित र समतामूलक समाज निर्माण तथा आधारभूत शिक्षा र स्वास्थ्यको प्रत्याभूत गर्न बजेट केन्द्रित रहेको उपप्रमुख गुरुङले बताइन्।
उनले स्वरोजगार सिर्जना, उद्यमशीलता विकास तथा व्यवसायिक कृषि प्रणालीको प्रवर्द्धन, जवाफदेहीता र प्रतिस्पर्धी मानव स्रोत विकासलाई प्राथमिकता दिइएको बजेटमा उल्लेख छ । यसअघि महानगरको १७ औं नगरसभामा महानगरप्रमुख धनराज आचार्यले आइतबार नै आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगरप्रमुख आचार्यले पर्यटनको राजधानी पोखराको पूर्वाधार निर्माण गर्नेदेखि पोखरा भ्रमण वर्षलाई सफल बनाउन पर्यटन प्रवर्द्धन गर्ने नीति महानगरले लिएको बताए। उनले पर्यटनबाहेक कृषि, शिक्षा, स्वास्थ्यलगायत महानगरको प्राथमिकतामा रहेको उल्लेख गरे ।