बागमती प्रदेशको अर्थ मन्त्रालयमा ‘हानाहानको स्थिति’: मन्त्री–सचिवबीच बजेट विवाद उत्कर्षमा

हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयमा बजेटको अन्तिम तयारीका क्रममा शनिबार राति मन्त्री र सचिवबीच गम्भीर विवाद भएको छ । मन्त्रालयभित्रै झन्डै हानाहानको अवस्था आएको स्रोतहरू बताउँछन् ।

मन्त्री कुन्दनराज काफ्ले र सचिव कृष्णप्रसाद मैनालीबीच भएको विवादले मन्त्रालयमा तनाब चुलिएको छ। स्रोतका अनुसार मन्त्री काफ्लेले अस्वाभाविक रूपमा १ अर्ब रुपैयाँ बजेट थप गर्न दबाब दिएका थिए, जसलाई सचिव मैनालीले अस्वीकार गरेपछि स्थिति झनै बिग्रिएको हो ।

🔹 दबाब, दुर्व्यवहार र झगडाको आरोप

श्रोतले जानकारी दिएअनुसार, मन्त्रीको सचिवालयसहितको टोलीले सचिव मैनालीको कार्यकक्षमा पुगेर दुर्व्यवहार गरेको थियो। स्थिति जटिल बन्दै जाँदा कर्मचारीहरूले हस्तक्षेप गरेर सचिवलाई सुरक्षित रूपमा क्वार्टरमा लगेर बचाएका थिए ।

एक मन्त्रीले घटनाको पुष्टि गर्दै भने, “सचिवज्यूलाई रातभर रुवाएर थुनेर राखिएको थियो। पछि उनीहरैले सचिवविरुद्ध उल्टै गलत प्रचार गरे।” सचिव मैनाली आइतबार बिहानदेखि सम्पर्कविहीन छन् ।

🔹 बजेटको आकारलाई लिएर सत्ता साझेदारबीच विवाद

यसअघि नेपाली कांग्रेस र नेकपा एमालेबीच ६८ अर्ब रुपैयाँसम्मको बजेट ल्याउने समझदारी भएको थियो। तर, मन्त्री काफ्लेले ७२ अर्ब रुपैयाँको बजेट प्रस्ताव गरेपछि विवाद उत्कर्षमा पुगेको हो ।

नेकपा एमालेले उक्त प्रस्ताव अस्वीकार्य हुने स्पष्ट पारेको छ। एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले भने, “सहमतिको आधारमा ६८ अर्बसम्म बजेट ल्याउने कुरा छ, त्योभन्दा बढी ल्याइयो भने एमालेले समर्थन गर्नेछैन ।”

🔹 मन्त्रिपरिषद् बैठक र संसद बैठकमा ढिलाइ

मन्त्रिपरिषद्को बैठक आइतबार साँझ साढे ५ बजे बोलाइएको छ। एमालेले ६८ अर्बभन्दा बढी बजेट आएको खण्डमा पास नगर्ने रणनीति बनाएको छ।  यसैबीच, विवादकै कारण आइतबार ३ बजेका लागि तय गरिएको प्रदेशसभा बैठक पनि साँझ साढे ६ बजे सारिएको छ ।

🔹 फोन सम्पर्कविहीन

घटनाबारे जानकारी लिन खोज्दा मन्त्री काफ्ले, उनका निजी सचिव अनुप अधिकारी, तथा मन्त्रालय प्रवक्ता श्रीकृष्ण आचार्य सबैको फोन बन्द (स्विच अफ) अवस्थामा रहेको छ ।

🔹 मन्त्री काफ्ले पहिलेदेखि विवादमा

यो घटनापछि मन्त्री काफ्ले पुनः विवादमा परेका छन्। यसअघि पनि उनले राजस्व परामर्श समिति गठनमा मन्त्रिपरिषद्लाई जानकारी नदिई शर्त (TOR) पास गराएको आरोप खेपेका थिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै