मिक्वाखोलाका कृषि योजनामा साढे एक करोड खर्चिँदै

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले अलैँची, कफी र सुन्तला लगायतका विभिन्न कृषिजन्य योजनामा करोडौँ बजेट कार्यान्वयन गर्ने भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षभित्रै सम्बन्धित किसानको ५० प्रतिशत लागत साझेदारीमा डेढ करोड रुपैयाँभन्दा बढीको कृषि योजना अघि बढाउन लागेको हो ।

गाउँपालिकाका अनुसार किसानको साझेदारी रकमसहित कृषिजन्य योजनामा कुल एक करोड ५८ लाख ३५ हजार रुपैयाँ खर्च गरिने छ । उक्त बजेटमध्ये अलैँची खेती प्रवर्द्धन तथा क्षेत्र विस्तार कार्यक्रममा मात्रै सबैभन्दा बढी एक करोड रुपैयाँ कार्यान्वयन हुने छ । जसमा गाउँपालिकाको ५० लाख र किसानको ५० लाख रुपैयाँ लागत साझेदारी रहने छ ।

त्यस्तै कफी क्षेत्र विस्तार तथा प्रवर्द्धन कार्यक्रमका लागि ३० लाख, राष्ट्रिय फल सुन्तला विशेष कार्यक्रममा १७ लाख ४० हजार र मागमा आधारित कृषि उपकरण अनुदान कार्यक्रममा १० लाख ९५ हजार रुपैयाँ खर्च हुने गाउँपालिकाले जनाएको छ । यी सबै कार्यक्रममा गाउँपालिका र किसानको ५०–५० प्रतिशत लागत साझेदारी रहने छ ।

यसैगरी कृषिजन्य योजनाहरू पालिकाका विभिन्न वडामा रहेका सहकारी तथा कृषक समूहमार्फत कार्यान्वयन हुने गाउँपालिका उपाध्यक्ष डण्डु लामा शेर्पाले जानकारी दिए । उपाध्यक्ष शेर्पाका अनुसार अलैँची, कफी र सुन्तला विशेष कार्यक्रम सहकारी र कृषक समूहमार्फत तथा कृषि उपकरण कार्यक्रम सम्बन्धित किसानमार्फत कार्यान्वयन गरिने छ ।

गाउँपालिका कृषि शाखाका प्रमुख जयकिशोर सिंहका अनुसार अलैँची खेती प्रवर्द्धन तथा क्षेत्र विस्तार कार्यक्रम पालिकाका पाँचै वटा वडामा कार्यान्वयन हुने छ । कफी क्षेत्र विस्तार कार्यक्रम वडा नं १ र २ (खोक्लिङ) मा मात्र केन्द्रित हुने छ ।

त्यस्तै राष्ट्रिय फल सुन्तला विशेष कार्यक्रम वडा नं १ र २ खोक्लिङ तथा वडा नं ४ साँवामा कार्यान्वयन हुने कृषि शाखा प्रमुख सिंहले बताए । कार्यक्रमहरू तत्काल कार्यान्वयनमा लैजाने योजनाअनुरूप लागत साझेदारी रकमसहित सम्पर्क गर्न गाउँपालिकाले शुक्रबार सूचना जारी गरेको छ । गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीले यी कार्यक्रमबाट पालिकावासी किसानलाई ठुलो राहत पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै