साउदीबाट फर्किएर गाउँमै कालिजपालन: मासिक एक लाख बढी आम्दानी

चितवन । वैदेशिक रोजगारीका लागि ११ वर्ष साउदी अरबमा पसिना बगाएका गैँडाकोटका एक युवाले अहिले आफ्नै घरमा कालिजपालन गरेर लोभलाग्दो आम्दानी गरिरहेका छन्। गैँडाकोट नगरपालिका–६ का प्रेमप्रसाद सापकोटाले कालिजपालनबाटै मासिक रु एक लाखभन्दा बढी कमाउँदै आएका हुन्।

छ वर्षअघि स्वदेश फर्किएका सापकोटाले करिब एक कट्ठा जमिनमा रु १३ लाखको लगानीबाट यो व्यवसाय सुरु गरेका थिए। सुरुमा प्रतिगोटा रु दुई हजारमा अण्डा किनेर आफ्नै मेसिनबाट चल्ला कोरेलेका उनले अहिले आफैँले चल्ला उत्पादन र बिक्री गर्छन्।

बजार र आम्दानीको अवस्था:

चल्ला बिक्री: प्रतिगोटा रु २०० का दरले वार्षिक करिब १० हजार चल्ला झापादेखि धनगढीसम्म पुग्ने गरेको छ।

माउ कालिज: माउ कालिज प्रतिगोटा रु दुई हजारदेखि तीन हजारसम्ममा बिक्री हुन्छ।

मासुका लागि माग: वार्षिक ५०० भन्दा बढी कालिज मासुका लागि फार्मबाटै बिक्री हुने गरेको छ।

कम लागत, बढी लाभ:

कालिजलाई दानाका रूपमा घरमै उत्पादित गहुँ, मकै र घाँस खुवाइने हुनाले लागत कम लाग्ने सापकोटा बताउँछन्। उनी बिहान–बेलुका कालिजको रेखदेख गर्छन् भने दिउँसो अन्य काममा व्यस्त रहन्छन्। उनको यो व्यवसायमा परिवारले पनि उत्तिकै साथ दिएको छ।

“साउदीमा जति कमाइ हुन्थ्यो, गाउँमै कालिजपालनबाट त्योभन्दा राम्रो आम्दानी भइरहेको छ,” सापकोटाले खुसी व्यक्त गर्दै भने, “मेहनत गर्ने हो भने विदेशमा भन्दा बढी लाभ आफ्नै माटोमा लिन सकिन्छ।”

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै