संखुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिका–१, सिसुवाखोला गोगनेका किसानले यस वर्ष अलैँची बेचेर सवा करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका छन्। ‘कालो सुन’ मानिने अलैँची बिक्री गरेपछि किसानहरूले टेबलमा पैसा राखेर बाँडफाँट गरिरहेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
गोगनेका किसानहरूले विगत सात वर्षदेखि सामूहिक रूपमा अलैँची खेती गर्दै आएका छन्। यस वर्ष उनीहरूले कुल १ करोड १७ लाख रुपैयाँभन्दा बढीको अलैँची बिक्री गरेका हुन्। गाउँपालिका अध्यक्ष भुपालराज मेवाहाङका अनुसार केही दिनअघि ठेकेदारले गाउँमै पुगेर अलैँची खरिद गरेपछि किसानहरूले रकम बाँडफाँट गरेका थिए।
अध्यक्ष मेवाहाङले भने, “हाम्रै पालिकाका किसानहरूको मेहेनतले यो सफलता मिलेको हो। ठेकेदारसँग बुझेको रकम सामूहिक रूपमा बाँड्दै गर्दा खिचिएको तस्बिरले अहिले धेरैको ध्यान तानेको छ।”
यो वर्ष गोगनेमा सामूहिक रूपमा १ सय १९ मन अलैँची उत्पादन भएको छ। बजारमा अहिले अलैँचीको मूल्य प्रतिमन ९० हजारदेखि १ लाख रुपैयाँसम्म रहेको छ। गाउँलेहरूको यो सामूहिक मेहेनत र मनग्य आम्दानीले व्यावसायिक कृषिको एउटा उदाहरणीय सन्देश प्रवाह गरेको छ।