कुखुरामा फाउल पोक्स सङ्क्रमण पुष्टि

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ का स्थानीय किसानले फार्ममा पालेका कुखुरामा फाउल पोक्स रोगको सङ्क्रमण देखिएको छ । नगरपालिकाको पशुपन्छी शाखाले उक्त फार्ममा कुखुरा तथा अन्य पन्छीमा देखिने सङ्क्रामक भाइरल रोगको पुष्टि भएको जनाएको छ ।

पशुपन्छी शाखा प्रमुख रामप्रसाद भट्टका अनुसार फाउल पोक्स (एभिन पोक्स) सङ्क्रमित कुखुरामा कल्ली, ठुँडो, आँखाको वरिपरि र पखेटामा दाना तथा फोका देखिने, खाना कम खाने, कमजोर हुने, तौल घट्ने र अण्डा उत्पादनमा कमी आउने लक्षण देखिन्छ । गम्भीर अवस्थामा मुख र घाँटीभित्र घाउ देखिँदा श्वासप्रश्वासमा समस्या भई मृत्युदर समेत बढ्न सक्ने उनले बताए ।

सङ्क्रमण देखिएको फार्मका सञ्चालकलाई मल्टिभिटामिनयुक्त इम्युनो–बुस्टर औषधि प्रयोग गर्न सुझाव दिइएको पशु चिकित्सक भोजराज पाण्डेयले जानकारी दिए । उनका अनुसार यसले कुखुराको रोगप्रतिरोधात्मक क्षमता बढाई मृत्युदर घटाउन सहयोग पुर्‍याउँछ। साथै, अन्य फार्ममा रोग फैलिन नदिन विशेष सतर्कता अपनाउन किसानलाई आग्रह गरिएको छ ।

फाउल पोक्स सङ्क्रमित कुखुरासँगको प्रत्यक्ष सम्पर्क, फार्मका उपकरण तथा लामखुट्टे र अन्य कीरामार्फत फैलिने भएकाले समयमै नियन्त्रण नगरे ठूलो आर्थिक क्षति हुन सक्ने चेतावनी पशुपन्छी शाखाले दिएको छ। शाखाले सङ्क्रमित कुखुरा अलग राख्न, सरसफाइमा ध्यान दिन, कीरा नियन्त्रण गर्न र आवश्यक परे खोप लगाउन किसानलाई अनुरोध गरेको छ । यो रोग मानिसमा नसरिने पनि स्पष्ट पारिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै