
मार्सीको खेती घट्यो, सदरमुकाममा चामल प्रतिकेजी १८० रुपैयाँ
काठमाडौँ । खेतमा लटरम्मै पाकेको मार्सीधान काट्न जुम्लाका किसानलाई अहिले भ्याइनभ्याइ भएको छ ।
देशभर तिहार पर्वको रौनक चलिरहँदा जुम्लाका किसान भने एकाबिहानै धानखेतमा पुगेर बेलुकी अबेरसम्म धान काटेर घर भित्र्याउन व्यस्त हुन परेको चन्दननाथ नगरपालिका–२ का स्थानीय लक्ष्मी कुमाईले बताए । यहाँका अधिकांश किसान दसैँ सकिएलगत्तै तिहार पर्व पनि नभनी धान काट्न व्यस्त देखिन्छन् ।
कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार जुम्लाको पहिचानका रूपमा रहेको मार्सीधान खेती गर्ने आफ्नै क्यालेन्डर छ, त्यही क्यालेन्डरका आधारमा जिल्लाका किसानहरू धान भित्र्याउन फाँटहरूमा व्यस्त छन्।
कार्यालय प्रमुख अधिकारीको भनाइ छ कि, धान चैतमा बीउ राख्ने, जेठदेखि असारसम्म रोपाइँ गर्ने, साउन भदौमा गोड्ने र असोज–कात्तिकभित्र धान काटेर घरमा भित्र्याउने गरिएको छ । किसानहरू बर्खेबाली धानसहित कोदो, सिमी र फापरलगायतका बालीनाली भित्र्याउने चटारोमा छन् ।
मार्सी धान उत्पादनमा गिरावट:-
पछिल्ला वर्षहरूमा मार्सीधान लगाउने क्षेत्रफल क्रमशः घट्दै गएको कृषि कार्यालयले जनाएको छ। जिल्लाभर कुल २ हजार ८५० हेक्टर क्षेत्रफलमा धानखेती हुने गर्छ ।
मार्सीको घट्दो क्षेत्रफल: गत वर्ष १ हजार ५०० हेक्टरमा रोपिएको मार्सीधान यस वर्ष भने १ हजार २०० हेक्टरमा मात्र खेती भएको कृषि विकास कार्यालयले जनाएको छ।
उत्पादन र निर्यात: गत आव २०८०/८१ मा जुम्लामा ३ हजार मेट्रिकटन मार्सी धान उत्पादन भएकामा २५० मेट्रिकटन जिल्लाबाहिर निर्यात भएको थियो।
अहिले यहाँका किसानले मार्सीधानसँगै कृषि अनुसन्धान केन्द्रले सिफारिस गरेको धानको जातमध्ये चन्दननाथ–एक, चन्दननाथ–तीन तथा लेकाली–एक र लेकाली–तीन जातको धान पनि रोप्ने गरेका छन् ।
चामलको मूल्य र माग:
जुम्ली मार्सीधान जिल्लाको पहिचानसँग जोडिएको छ । अहिले मार्सी चामल सदरमुकाम खलङ्गामा प्रतिकेजी १८० रुपैयाँमा किनबेच भइरहेको छ । विशेषगरी जुम्ला घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले मार्सी चामल लिन गरेको सदरमुकामस्थित रारालिही अग्र्यानिक पसलका सञ्चालक अर्जुन बुढाले बताए ।