
५ हजार ४७९ हेक्टरमा धान खेती, स्थानीय जातको उत्पादन राम्रो रहेको कृषि ज्ञान केन्द्रको भनाइ
काठेखोला । बागलुङका किसानहरू यतिबेला धान बाली भित्र्याउनमा व्यस्त छन् । हिन्दु नेपालीहरूको दोस्रो महान् चाड तिहार (दीपावली) नजिकिए पनि धान पाकेका कारण किसानहरू धमाधम बाली काट्न, बोक्न र भित्र्याउन थालेका हुन् ।
दसैँपछि मौसम अनुकूल भएकाले किसानहरूलाई धान काट्न र बाली भित्र्याउन सहज भएको छ । अहिले खेतमा धान काट्ने, बोक्ने, छाट्ने र भित्र्याउने काममा गाउँभरि चहलपहल बढेको छ ।
काठेखोला गाउँपालिका–७, रेशका किसान विनोद कार्कीले खेतमा पाकेर झुलिसकेको धान मौसम सुधार भएसँगै बल्ल काटेर घरमा भित्र्याउन पाएको बताए । “तिहार नजिकिए पनि खेतमा धान पाकेकोले सबै किसान खेततिरै छौँ,” उनले भने, “अहिले गाउँघरमा किसानलाई धान घरमा भित्र्याउन भ्याइनभ्याइ छ।”
उत्पादन राम्रो हुने अपेक्षाः
यस पटक धान राम्रो फलेको काठेखोला गाउँपालिका–२, भीमापोखराका किसान डिल बहादुर केसीले बताए । “यस वर्ष धानमा किरा लागेको छैन, समयमै पानी परेको कारणले पनि अहिले राम्रो धान फलेको छ । उत्पादन वृद्धि हुने अपेक्षा लिएका छौँ,” उनले भने ।
अधिकांश किसानले तिहारअगाडि र केहीले तिहारलगत्तै धान घरमा भित्र्याउने तयारी गरेका छन् ।
रोगको प्रभाव कमः
कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी तथा बाली संरक्षण अधिकृत सन्तोष अधिकारीले यस वर्ष बागलुङमा पाँच हजार चार सय ७९ हेक्टर जमिनमा धान खेती गरिएको जानकारी दिए ।
उनका अनुसार बर्खाको समयमा बाढीले केही क्षेत्रफलमा धान खेतीलाई प्रभावित पारे पनि समग्रमा यस वर्ष खेती राम्रो रहेको छ। “एक।दुई जना कृषकले लगाएको हाइब्रीड धानमा कालो पोके र घाटिमरुवा रोग देखा परेको छ,” अधिकारीले भने, “त्यसबाहेक अन्य लोकल बीउ लगाउनु भएका कृषकहरूको धान उत्पादन यस वर्ष राम्रो देखिएको छ ।”
गत वर्ष बागलुङमा २० हजार सात सय ४५ मेट्रिक टन बर्खे धान फलेको थियो ।