चितवन । नेपाल ह्याचरी उद्योग संघले आज (असार २३ गते) देखि असार २९ गतेसम्मका लागि कुखुराको चल्ला उत्पादन तथा बिक्री वितरण पूर्णरूपमा बन्द गरेको छ। चल्ला उत्पादक किसानहरूले लागत अनुसारको मूल्य पाउन नसकेपछि संघले यो निर्णय लिएको हो ।
संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र लामिछानेका अनुसार, ब्रोइलर र कलर ब्रोइलर (कोइलर) कुखुराको चल्ला तथा मासुले उचित मूल्य पाउन नसकेको र कतिपय अवस्थामा लागतभन्दा पनि कम मूल्यमा बेच्नुपर्ने अवस्था आएकाले यो कदम चालिएको हो। अहिले नेपालमा ५३ वटा ह्याचरी उद्योग सञ्चालनमा छन्।
उत्पादन र मागमा असन्तुलन
कोभिड महामारीअघिसम्म करिब ३७० वटा ह्याचरी उद्योग सञ्चालनमा थिए । हाल नेपालमा साप्ताहिक बजार खपत २० लाखदेखि २२ लाख चल्ला मात्रै रहेको छ, तर उत्पादन भने सातामा ३० देखि ३५ लाख चल्ला हुने गरेको छ। मागभन्दा उत्पादन धेरै बढी हुँदा यो समस्या आएको हो ।
उत्पादित चल्ला १० देखि १५ रुपैयाँमा बेच्नुपर्ने अवस्था आएपछि उद्योग बन्द गरिएको हो, जबकि ब्रोइलर चल्लाको लागत मूल्य करिब ६० रुपैयाँ पर्न आउँछ । सामान्यतया, हरेक आइतबार र बुधबार ब्रोइलर र कोइलरका चल्ला उत्पादन गरिन्छ ।
माग र उत्पादनको यो असन्तुलनले ह्याचरी उद्योगहरू धराशायी बन्दै गएको संघले जनाएको छ ।