
काठमाडौँ । काभ्रेपलाञ्चोक जिल्ला दूध उत्पादनमा पूर्णरूपमा आत्मनिर्भर रहेको छ। यहाँ उत्पादित कुल दूधको करिब ७०% संघीय राजधानी काठमाडौँलगायत अन्य जिल्लाहरूमा आपूर्ति हुने गरेको छ ।
जिल्ला पशु सेवा कार्यालयका अनुसार काभ्रेमा वार्षिक करिब १ लाख ४९ हजार २८० मेट्रिक टन (अर्थात् १४ करोड ९२ लाख ८० हजार लिटर) दूध उत्पादन हुन्छ।
दूध उत्पादनको अवस्था
जिल्लामा १ लाख ४७ हजार ८७४ गाई र १ लाख ३८ हजार ४९९ भैँसीबाट यो परिमाणमा दूध उत्पादन हुने गरेको छ। हाल, ४३ हजार १०७ दूधालु गाई र ५९ हजार ३२० दूधालु भैँसी सक्रिय छन्। दूधालु गाईमध्ये २३ हजार ८३५ स्थानीय जातका र १९ हजार २७२ उन्नत जातका छन्। त्यसैगरी, दूधालु भैँसीमध्ये ३४ हजार ३४० स्थानीय र २४ हजार ९८० उन्नत जातका रहेको कार्यालयले जनाएको छ।
जिल्ला पशु सेवा कार्यालय प्रमुख डा. सृजा वाग्लेका अनुसार, पछिल्लो समय दूध बिक्रीबाट जिल्लामा भित्रने रकमको आधिकारिक तथ्यांक संकलन भइरहेको छ। पनौती, बनेपा, मण्डनदेउपुर र पाँचखाल नगरपालिकामा सबैभन्दा बढी दूध उत्पादन हुन्छ।
ऐतिहासिक पृष्ठभूमी र आपूर्ति प्रणाली
काभ्रेपलाञ्चोकमा वि.सं. २००९ देखि नै दूध बिक्री हुँदै आएको इतिहास छ। २०७३ साल साउनमा यसलाई ‘दूधमा आत्मनिर्भर जिल्ला’ घोषणा गरिएको थियो। जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायणप्रसाद बडालका अनुसार, कुल उत्पादित दूधमध्ये करिब ३०% जिल्लामै खपत हुन्छ भने बाँकी ७०% काठमाडौँलगायत अन्य जिल्लामा पठाइन्छ।
दैनिक करिब ५ लाख लिटर दूध उत्पादन हुने काभ्रेबाट बजारमा ३ लाख लिटर दूध बिक्रीका लागि पठाइन्छ। जिल्लाका विभिन्न क्षेत्रबाट ७० वटा सहकारी र १०० भन्दा बढी निजी तवरबाट दूध संकलन हुँदै आएको छ ।
विशेषगरी डाँडापारिका खानीखोला, महाभारत, कोशीपारिस्थित चौँरीदेउराली र भुम्लु गाउँपालिकाबाट भने तरल दूध बजारमा नआउने संघले जनाएको छ । यी क्षेत्रबाट भने मक्खन, छुर्पी, खुवा, पनिरजस्ता दुग्धजन्य पदार्थ बजारमा आउने गरेका छन् । काभ्रेबाट उत्पादित दूध काठमाडौंका साथै पोखरा, चितवन र हेटौंडामा पनिर बनाउनका लागि पनि पठाइन्छ ।
चुनौती र समस्या
सरकारद्वारा जारी ‘दूध तथा दुग्ध पदार्थ उत्पादन मापदण्ड निर्देशिका–२०७५’ को कार्यान्वयनमा भने कठिनाइ देखिएको छ ।
नेपाल खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, धुलिखेलले पटक-पटक दुग्ध चिस्यान केन्द्र तथा दूध संकलन केन्द्रको अनुगमन गरी सचेत गराए पनि अधिकांश व्यवसायीले अझै पनि प्लाष्टिकका भाँडामा दूध ढुवानी गरिरहेका छन् ।
निर्देशिकाअनुसार प्लाष्टिकको भाँडामा दूध ढुवानी र भण्डारण गर्न पाइँदैन भने बासी दूध बिक्री गर्न पनि प्रतिबन्ध छ ।