तनहुँमा ७० रोपनी क्षेत्रफलमा व्यावसायिक अंगुरखेती, आन्तरिक पर्यटकको आकर्षण बढ्दै

नेपालको गण्डकी प्रदेशमा अवस्थित तनहुँको घिरिङ गाउँपालिका-४, बाह्रबीसेमा सुरु भएको व्यावसायिक अंगुर खेती आन्तरिक पर्यटकका लागि नयाँ गन्तव्य बनेको छ। काठमाडौँका कुमार कार्कीले ७० रोपनी क्षेत्रफलमा गरेको यो खेती अवलोकन गर्न दैनिक रूपमा धेरै मानिसहरू पुग्ने गरेका छन्।

तनहुँ । तनहुँको घिरिङ गाउँपालिकामा पहिलो पटक ७० रोपनी क्षेत्रफलमा गरिएको व्यावसायिक अंगुरखेतीले आन्तरिक पर्यटकहरूलाई आकर्षित गर्न थालेको छ । घिरिङ गाउँपालिका–४, बाह्रबीसेमा थालिएको यस खेतीलाई अवलोकन गर्न जिल्लाका विभिन्न क्षेत्रबाट आन्तरिक पर्यटकहरू पुग्न थालेका छन् ।

कुमार कार्कीको पहलकदमी

काठमाडौँ चन्द्रागिरिका कुमार कार्कीले पाँच वर्षअघि यहाँ जग्गा खरिद गरी व्यावसायिक रूपमा अंगुरखेती सुरु गरेका हुन् । उहाँले विसं २०७७ मा घिरिङ भिनेयार्ड एग्रो रिसर्च सेन्टर दर्ता गरी खेती सुरु गरेका थिए । अहिले फार्ममा लटरम्म अंगुर फलेका छन् ।

विविध प्रजातिका अंगुर र रोजगारी सिर्जना

कार्कीका अनुसार, करिब ७० रोपनी क्षेत्रफलमा डिभिको, चार्डोनी, अर्काडिया, सोन्जा लगायत २१ प्रजातिका अंगुर लगाइएका छन्। जिल्लाको यो पहिलो अंगुरखेती हेर्न दैनिक ५० जनासम्म आन्तरिक पर्यटकहरू पुग्ने गरेका छन् ।

व्यास नगरपालिका–५ का मोहनकुमार श्रेष्ठले लटरम्म फलेका अंगुरले यहाँ पुग्ने जोकोहीलाई लोभ्याउने बताएका छन् । अंगुर फार्ममा पुगेका छिमेकी ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले पनि अंगुरखेती प्रशंसालायक रहेको उल्लेख गरे ।

सञ्चालक कार्कीका अनुसार, यस फार्मले चार जनालाई स्थायी र २० जनालाई ज्यालादारीका रूपमा रोजगारी प्रदान गरेको छ । स्वीट्जरल्याण्डबाट प्रतिबिरुवा ७०० देखि १ हजार रुपैयाँसम्ममा खरिद गरी यहाँ ल्याएर रोपिएको उनले जानकारी दिए । अंगुरखेतीका लागि हालसम्म १ करोड ५० लाख रुपैयाँभन्दा बढी लगानी भइसकेको उनले बताए ।

वाइन उत्पादन र भविष्यको योजना

यहाँ उत्पादित अंगुर वाइन बनाउनका लागि धादिङ पठाउने गरिएको छ । कार्कीका अनुसार, धादिङको थाँक्रे गाउँपालिका–१०, जुङेखोला केवलपुरमा रहेको कम्पनीले विगत १५ वर्षदेखि ३०० रोपनी क्षेत्रफलमा ३० हजार बिरुवा लगाएर व्यावसायिक अंगुरखेती गरी वाइन उत्पादन गर्दै आएको छ । उक्त कम्पनीले ७५० मिलिलिटरका बोतलमा विभिन्न तीन प्रकारका वाइन उत्पादन गरिरहेको छ।

धादिङमा ३८ करोड ५० लाख रुपैयाँको लागतमा अंगुरखेती र वाइन उत्पादन भइरहेको छ, र त्यहाँ उत्पादित वाइन प्रतिबोतल १ हजार २०० रुपैयाँमा बिक्री भइरहेको छ। कार्कीले भने, “कम्पनीसँग हाल वार्षिक तीन लाख लिटर वाइन उत्पादन गर्ने क्षमता छ ।”

वर्षामा एक पटक अंगुर फल्ने भएकाले अन्य समयमा फार्ममा रेखदेख, गोडमेल, काँटछाँट र बिरुवा मरेका ठाउँमा नयाँ बिरुवा लगाउनेलगायतका कार्यहरू गरिनेछ । फार्ममा हारियोमा सुजी, कायाबिनेट क्यान्टर, मनाज, सोबिनियन ग्रिस र खानका लागि फन्नी, सोफिया, आरकडिया, पोलिस्की, दुचबा, चालिचमान लगायतका जातका अंगुर छन् । अंगुरको बोटमा चैत–वैशाखमा फूल फुल्छ र त्यसको तीन महिनापछि फल टिप्न तयार हुन्छ ।

घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले यहाँको हावापानी अंगुरखेतीका लागि उपयुक्त रहेकोले व्यावसायिक रूपमा यो खेती सफल भएको बताए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै