‘ड्रागन फ्रुट’ खेतीतर्फ आकर्षित हुँदै सुर्खेतका किसान: नयाँ सम्भावना र आत्मनिर्भरताको बाटो

सुर्खेत । सुर्खेतमा ‘ड्रागन फ्रुट’ खेतीको सम्भावना बढ्दै गएसँगै यहाँका किसानहरू यसको व्यावसायिक खेतीतर्फ आकर्षित हुन थालेका छन् ।

जिल्लामा यसको बलियो सम्भावना देखिएपछि हाल ४५ जना किसानले व्यावसायिक रूपमा ड्रागन फ्रुटको खेती सुरु गरेका छन्, जसले कृषिलाई आयआर्जनको नयाँ स्रोत बनाएको छ ।

कृष्ण अधिकारी: कोरियाबाट फर्किएर कृषिमा सफल उद्यमी

वीरेन्द्रनगर–८ का कृष्ण अधिकारी चार वर्षदेखि ड्रागन फ्रुट खेती गर्दै छन् । कोरियामा पढाइ सकेर नेपाल फर्किएपछि काठमाडौँमा कोरियन भाषा पढाउन सुरु गरेपनि उनलाई आफ्नै माटोले तान्यो र कृषि पेसामा केही गर्ने योजनासहित ड्रागन फ्रुटको खेती सुरु गरे ।

अहिले अधिकारीका लागि ड्रागन फ्रुट आम्दानीको मुख्य स्रोत बनेको छ । करिब ४० लाख रुपैयाँको लागतमा उहाँले वीरेन्द्रनगर–११ ग्रागेतालमा २३ कट्ठा जग्गा भाडामा लिएर कर्णाली ड्रागन कृषि तथा पशुपक्षी फार्म दर्ता गरी व्यावसायिक खेती सुरु गरेका छन् । उनले २० कट्ठामा ड्रागन र बाँकी जग्गामा कुरिलो, फूल र मौरीपालन गर्दै आएका छन् ।

सुरुमा ७५० पोलमा ३ हजार ड्रागनका बिरुवा लगाएको अधिकारीको फार्ममा अहिले ९०० पोलमा ३ हजार ६०० बेर्ना उत्पादनशील बनेका छन् । ड्रागनको बिरुवाले एक वर्षमै उत्पादन दिने भएकाले लगानी छिटो उठ्ने उनको भनाइ छ । उनले भारतबाट ‘सियाम रेड’ जातका ड्रागनका बेर्ना ल्याएर खेती सुरु गरेका थिए । वार्षिक १ लाख रुपैयाँ भाडा तिर्ने यो जमिन अहिले अधिकारीको आम्दानीको स्रोत बनेको छ । ड्रागनको उत्पादन जेठदेखि मंसिरसम्म हुन्छ र कोपिला आएको ३५ दिनमा फल बजार पठाउन सकिन्छ ।

यस वर्षको पहिलो सिजनमा १५० किलो फल उत्पादन भइसकेको र दोस्रो सिजनमा २० क्विन्टलभन्दा बढी उत्पादन हुने अनुमान गरिएको अधिकारीले जानकारी दिए । गत वर्ष ६० क्विन्टल फल बिक्री गरेर २२ लाख रुपैयाँ आम्दानी गरेका अधिकारीले यस वर्ष उत्पादन बढेर १०० क्विन्टल पुग्ने र करिब ३० लाख रुपैयाँको कारोबार हुने अपेक्षा गरेका छन् । उनका अनुसार, खुद्रा बजारमा प्रतिकिलो ४०० रुपैयाँ र थोकमा ३५० रुपैयाँमा बिक्री हुने ड्रागनको माग बढ्दो छ । एक पटक लगाएको ड्रागनको बिरुवाले २० वर्षसम्म फल दिन्छ ।

ड्रागनसँगै, अधिकारीले कुरिलो खेतीबाट यस वर्ष ६० हजार रुपैयाँ आम्दानी गरेका छन् । प्रतिकिलो ६०० रुपैयाँमा बिक्री हुने यो वनस्पति चैतदेखि भदौसम्म फल दिन्छ र एक पटक लगाएपछि १० वर्षसम्म उत्पादन दिन्छ । मौरीपालनमा पनि उनले परीक्षणका लागि तीन घार मौरी राखेका छन् र यस वर्ष घार विस्तार गरी ६० वटा पुर्याउने योजनामा छन् ।

अधिकारीले आफ्नो फार्ममा एक जनालाई स्थायी रोजगारी प्रदान गरेका छन्, जसलाई मासिक १७ हजार रुपैयाँ तलब दिने गर्छन् । ड्रागन र कुरिलोका बिरुवा उत्पादन र बिक्रीबाट पनि वार्षिक १ लाख ५० हजार रुपैयाँ आम्दानी हुने गरेको छ ।

पद्मा रावत: दुःखमाझ पनि कृषिको यात्रा

अधिकारी जस्तै, वीरेन्द्रनगर–१२ की पद्मा रावत पनि पाँच वर्षदेखि ड्रागन फ्रुटको खेतीमा संलग्न छिन् । २०७७ सालमा मालिका कृषि तथा ड्रागन फ्रुट फार्म स्थापना गरी श्रीमान् वीरबहादुर बुढासँग मिलेर खेती गर्ने योजना बनाएकी थिइन् । विसं २०७७ चैतमा बिरुवा लिन भारतको गुजरात पुगेका थिए, तर कोरोना सङ्क्रमण महामारीका रूपमा फैलिएकै बेला २०७८ वैशाख १७ गते श्रीमान् वीरबहादुरको निधन भयो। त्यसपछि पनि रावतले एक्लै व्यवसायलाई निरन्तरता दिँदै आएकी छिन् ।

रावतले ६५० पोलमा २ हजार ६०० बिरुवाबाट सुरु गरेको ड्रागन फ्रुटको खेती अहिले १ हजार ४०० पोलमा ५ हजार ६०० बिरुवा पुगेका छन् । वार्षिक ३ लाख रुपैयाँ तिर्ने गरी १५ वर्षका लागि जग्गा भाडामा लिएर उनले खेती गरिरहेका छन् ।

“यस वर्षको पहिलो सिजनको ड्रागन बजार पठाउन सुरु भएको छ । अहिलेसम्म २ क्विन्टल बिक्री गरिसकेकी छु,” उनले भनिन् । एउटा बोटले आठ पटकसम्म उत्पादन दिने र एउटा खम्बामा चारवटाका दरले बिरुवा रोप्ने गरिन्छ । “यो फलको मूल्य अहिले केही घटेको छ, पहिलाजस्तो अहिले आम्दानी हुँदैन तर आफूलाई घर खर्च र छोराछोरीको पढाइ खर्च पुगेको छ,” रावतले भनिन् ।

वर्षमा ६ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको रावतले जानकारी दिइन् । उनका अनुसार, नयाँ रोपेका बिरुवाले फल दिने समय नभएकाले आम्दानी कम भएको हो । ड्रागनका बिरुवा बिक्री गरेर मात्र पनि वार्षिक ३ लाख रुपैयाँ आम्दानी हुने गरेको छ । उनले फार्ममा तरकारी, फूलका बेर्ना लगाउनुका साथै कुखुरा र बाख्रापालन पनि गर्दै आएकी छिन् ।

सुर्खेतमा ड्रागन फ्रुटको सम्भावना

कर्णाली ड्रागन उत्पादन महासङ्घ, कर्णाली प्रदेशका अध्यक्ष महेन्द्र खनालले पछिल्लो समय सुर्खेतका किसान ड्रागन खेतीतर्फ आकर्षित हुन थालेको बताए । उनका अनुसार, अहिले सुर्खेतमा ४५ जना किसानले ड्रागन फ्रुटको खेती गरिरहेका छन्, र करिब ७० हेक्टर क्षेत्रफलमा यसको खेती भइरहेको छ।

खनालका अनुसार, हाल उत्पादन भएका ड्रागन सुर्खेतमा बिक्री हुनुका साथै नेपालगञ्ज र काठमाडौँसम्म पठाइने गरिएको छ । सरकारी तथा निजी क्षेत्रको सहकार्यमा बजार पहुँच, भण्डारण सुविधा र प्रविधिको पहुँच सुनिश्चित गरिएमा ड्रागन फ्रुट खेतीले कर्णाली प्रदेशको कृषि व्यवसायलाई नयाँ उचाइमा पुर्याउन सक्ने अध्यक्ष खनालले विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै