
काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले उखु किसानलाई दिइँदै आइएको अनुदान खारेज गर्ने निर्णय फिर्ता हुनुपर्ने माग गरेका छन्।
बैठकमा शून्य समयमा बोल्दै सांसदहरूले सरकारले आगामी आर्थिक वर्षदेखि उखु किसानलाई दिँदै आइएको प्रतिक्विन्टल ७० को उत्पादन अनुदान खारेज गर्ने निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै उक्त अनुदान नरोक्न सभाध्यक्षमार्फत सरकारको ध्यानार्कषण गराए।
विगत ३० वर्षदेखि निरन्तर उपलब्ध गराउँदै आइएको सुविधा खारेज गर्ने निर्णयले किसान मर्कामा पर्ने उनीहरूले बताए। सांसद डा बेदुराम भुसालले उक्त अनुदान नरोक्न सरकारको ध्यानार्कषण गराए। “यो अनुदान रोक्नु भनेको किसानलाई असहयोग गर्नु हो, तसर्थ यो निर्णय तुरुन्त फिर्ता गरियोस्”, उनले भने।
सांसद गोपीबहादुर सार्की अछामीले उखु किसानलाई दिइँदै आइएको अनुदान खारेज गर्दा रौतहट, सर्लाही, महोत्तरीलगायत जिल्लाका किसान निरुत्साहित हुने बताए। सांसद मृगेन्द्रकुमार सिंह यादवले उखु किसानलाई दिइँदै आइएको अनुदान रोक्ने निर्णयबारे पुनःविचार गर्न आग्रह गरे।