काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ बस्तुगत तर्फका केन्द्रिय उपाध्यक्षका उम्मेदवार शिवप्रसाद घिमिरेले नयाँ सरकार गठनसँगै ‘आर्थिक क्रान्ति’ को नारा दिँदै सरकार र निजी क्षेत्रबीच तत्काल सहकार्य गर्नुपर्ने जोडदार माग गरेका छन् ।
सुरक्षित निजी क्षेत्रः सशक्त महासंघका लागि आयोजना गरेको नीति संवाद कार्यक्रममा बाेल्दै घिमिरेले “राजनीतिक क्रान्ति सम्पन्न भइसकेको छ, अब सरकार र निजी क्षेत्र मिलेर आर्थिक क्रान्ति गर्नुपर्ने” भनेका छन् ।
कार्यक्रमका प्रमुख आयोजकसमेत रहेका घिमिरेले स्पष्ट रूपमा भने, “निजी क्षेत्रले कुनै आर्थिक सहुलियत, ऋण मिनाहा वा ब्याज छुट मागेको छैन । हामीले मागेको भनेको सुशासन, झन्झटमुक्त कानुनी प्रक्रिया र समयानुकूल ऐन-कानुन संशोधन मात्र हो ।” उनले सरकार र संसद्लाई लगानीमैत्री कानुन बनाउन तत्काल सहयोग गर्न आग्रह गरे ।
कर नीतिमाथि कडा टिप्पणी गर्दै घिमिरेले भने, “करको दर होइन, दायरा बढाउनुपर्छ ।” निजी क्षेत्रलाई ‘कालोबजारी र नाफाखोर’ मात्र ठान्ने नकारात्मक भाष्यलाई तुरुन्त अन्त्य गर्नुपर्नेमा समेत उनको जोड थियो । “व्यवसायीहरू रोजगारदाता, करदाता र विषयविज्ञ पनि हुन् । उनीहरूलाई सम्मान दिने संस्कृति स्थापित गर्नुपर्छ,” घिमिरेले थपे ।