पर्सा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्वको लक्ष्यभन्दा धेरै रकम सङ्कलन गर्ने गरी काम गर्नका लागि वीरगन्ज भन्सारका कर्मचारीलाई निर्देशन दिएका छन् । अर्थमन्त्री वाग्लेले शुक्रबार यहाँस्थित वीरगन्ज भन्सार कार्यालयको निरीक्षण गर्दै लक्ष्य अनुसारको राजस्व उठाउन दबाब पर्ने भए तापनि संवादमार्फत नै राजस्वको लक्ष्यभन्दा धेरै रकम उठाउन निर्देशन दिए ।
“लक्ष्य अनुसार राजस्व उठाउनका लागि एउटा दबाब पनि पर्ने गर्छ । त्यतिबेला उद्योगी व्यवसायी मारमा पनि पर्ने गर्छन् तर उद्योगी व्यवसायीलाई धरपकड र छापा मार्नेभन्दा पनि फकाइ फकाइ वा संवादबाटै राजस्व उठाउनेतर्फ अघि बढ्न निर्देश गर्दछु,” उनले भने, “घुसको लेनदेन हुने गरेका विभिन्न खालका गुनासा पनि छन् । त्यस्ता गुनासालाई पनि अन्त्य गर्न जरुरी छ ।”
उनले भने, “कडाइ गरेर एक वर्ष त राजस्व धेरै उठाउन सकिएला तर उद्योग व्यवसाय गर्न नै हतोत्साही हुने वातावरण भने बनाउने छैनौँ,” उनले भने, “राजस्वको लक्ष्य पूरा गरेको खण्डमा तपाईंहरू मेरो नोटिसमा आउनुहुने छ । सरकारले हामीले जुन विराट् लक्ष्य लिएका छौँ, त्यसलाई परिपूर्ति गर्न सकिने छ ।”
अर्थमन्त्री वाग्लेले राम्रो काम गर्नेलाई प्रशंसारपुरस्कृत गर्ने र नराम्रो काम गर्नेलाई हतोत्साही गर्ने नीति अनुसार अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । “सरकारको माथिल्लो तहबाटै सदाचारको नीति अघि बढ्ने भएकाले तल्लो तहमा पनि सो कायम गर्न जरुरी छ । त्यो कुरा यहाँहरूले पनि पालना गर्नुहोला,” उनले भने, “बजार अनुगमन त हामीले गर्नुपर्ने हुन्छ तर बजार अनुगमनको पनि दुरुपयोग हुनेतर्फ सचेत र सहज हुनका लागि अनुरोध गर्दछु ।”
अर्थमन्त्री वाग्लेले बदमासी गर्नेविरुद्ध राज्य एकदमै निर्मम भएर अघि बढ्ने बताउँदै भने, “भ्रष्टाचारलाई मलजल गर्ने समूह र व्यक्तिमाथि नेपालको मौजुदा कानुन कार्यान्वयन गरेर नै छाड्ने छौँ,” उनले भने, “अहिले हिजो जस्तो समय छैन । समयले अहिले काँचुली फेरेको छ । नयाँ चाल र लयलाई समात्नु पर्छ भन्ने छ । अब सेवा प्रवाहमा नयाँ अनुभव गर्न पाउनुपर्ने छ ।”
शुक्रबार नै वीरगन्ज उद्योग वाणिज्य सङ्घको आयोजनामा भएको आव २०८३र८४ को पूर्वबजेट अन्तरक्रियामा अर्थमन्त्री वाग्लेले सुशासन र सुधार सरकारको वेगलाई कसैले चाहेर पनि रोक्न नसक्ने बताए । धैरै दिनदेखि सम्बोधन हुन नसकेका राजस्व अनुसन्धान विभाग र आर्थिक क्षेत्रमा देखिएका १५ वटा निष्क्रिय ऐन खारेज गर्ने निर्णयलाई कार्यान्वयन गरी उद्योगी व्यवसायीको चाहना अनुरूप आर्थिक क्षेत्रमा देखिएका सुधारलाई प्राथमिकतासाथ अगाडि बढाएको पनि उनले बताए ।
उनले आर्थिक एजेन्डालाई अगाडि बढाउन सरकारले जनमत पाएकाले आर्थिक क्षेत्रमा देखिएका चुनौतीलाई सबैको साथ र सहयोगमा दृढतापूर्वक सामना गरिने कुरा व्यक्त गरे । राम्रो काम गर्नेलाई प्रोत्साहन र नराम्रो काम गर्नेलाई दण्डित गर्ने काम सरकारले गर्ने बताउँदै अर्थमन्त्री वाग्लेले जेनजी आन्दोलनको मर्म पनि यही रहेको स्मरण गरे।
दुईरचार जनालाई कारबाही गरेर बाँकीलाई संरक्षण गर्ने काम यो सरकारबाट नहुने भन्दै उनले राजनीतिक कार्यकर्ता वा प्रशासनिक कर्मचारी जोकोहीलाई पनि कानुनसम्मत कारबाही हुने स्पष्ट पारे । अर्थमन्त्री वाग्लेले सरकारको काम पारदर्शी बनाई सुशासन र समृद्धि र सुधारको अनुभूति दिलाउन केही ऐनलाई संशोधन गर्नुपर्ने बताउँदै सहज वातावरणमा काम गर्न तथा झन्झटिलो प्रक्रियालाई निष्क्रिय बनाउन सरकार पछि नपर्ने उल्लेख गरे ।
वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमको अध्यक्षतामा भएको कार्यक्रममा राजस्व सचिव भूपाल बराल, भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारी र आन्तरिक राजस्व विभागका महानिर्देशक जनकराज शर्माले आर्थिक क्षेत्रमा देखिएका चुनौतीलाई सम्बोधन गर्दै समाधानको बाटो देखाउन आग्रह गरे ।