काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वर्तमान उपाध्यक्ष एवं आगामी निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका प्रत्याशी हेमराज ढकालले निजी क्षेत्रको एजेन्डालाई सरकारको प्राथमिकतामा राख्दै आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
महासंघको ६०औँ वार्षिक साधारणसभा सन्दर्भमा आयोजित उमेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले वर्तमान नेतृत्वको सफलताको स्वामित्व लिँदै आगामी कार्यकालमा थप चुनौतीहरूको सामना गर्न आफू तयार रहेको बताए । उनले वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालको कार्यकाल ऐतिहासिक रूपमा सफल रहेको पनि बताए ।
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको गठन र त्यसले दिएका सुझावहरू कार्यान्वयनको चरणमा रहेको बताउँदै ढकालले वर्तमान सरकार निजी क्षेत्रका एजेन्डाप्रति सकारात्मक रहेको उल्लेख गरे । ढकालले आफूसँगै चुनावी मैदानमा रहेका वस्तुगत उपाध्यक्षका उमेदवार नरेश दास, जिल्ला नगरका उमेदवार उमेश डालमिया, कल्पना गैह्रे र एसोसिएटका उम्मेदवारहरूको प्रशंसा गर्दै उनीहरूलाई विजयी गराउन आग्रह गरे । उनले महासंघभित्र गुटबन्दीभन्दा पनि एउटै टिम बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।
उनले भने, “अध्यक्षज्यूले सुरुमा प्रतिबद्धता गरेअनुसार अख्तियारको क्षेत्राधिकार निजी क्षेत्रमा प्रवेश रोक्ने, लगानी सम्मेलन गर्ने, कानुन संशोधन र सीआईपी अवार्ड पुनः सुरु गर्नेजस्ता महत्त्वपूर्ण काम भएका छन् । प्रतिकूल आर्थिक अवस्था र कोभिडपछिको मन्दीका बाबजुद पनि पीएसपीपीजस्ता रणनीतिक योजनाहरू सरकारबाट पास गराउन सफल हुनु हाम्रो टिमको ठूलो उपलब्धि हो । अर्थमन्त्रीज्यूले आन्तरिक राजश्व अनुसन्धान विभाग खारेज गर्ने र पुराना १५ वटा कानुन खारेज गर्ने जुन आँट देखाउनुभएको छ, यसले व्यवसायीहरूमा उत्साह जगाएको छ । अबको कार्यकालमा निजी क्षेत्रका एजेन्डाहरू सरकारको मेनिफेस्टोमा समेत परिसकेकाले काम गर्न केही सहज हुने अपेक्षा छ,” उनले भने ।
बजार चलायमान नभएको, युवाहरू विदेश पलायन भइरहेको अवस्थामा नेपालमै गरी खाने वातावरण बनाउनुपर्ने बताए । “जलस्रोत, पर्यटन, उद्योग र कृषिलाई तीव्र गतिमा विकास गरेर रोजगारी सिर्जना गर्नु नै हाम्रो मुख्य एजेन्डा हो,” उनले भने ।
मुलुकको वर्तमान आर्थिक संकुचन र युवा पलायनप्रति चिन्ता व्यक्त गर्दै ढकालले अबको नेतृत्वको मुख्य लक्ष्य ‘डबल डिजिट’को आर्थिक वृद्धि हुनुपर्ने बताए । विगत तीन वर्षमा महासंघले दिएको हरेक जिम्मेवारीमा अहोरात्र खटिएको स्मरण गर्दै ढकालले आफ्नो अनुभव र प्रतिबद्धतालाई हेरेर सहयोग गर्न सम्पूर्ण उद्योगी व्यवसायीहरूलाई अपिल गरे ।
-न्युज एजेन्सी नेपाल