कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा सार्वजनिक ऋणको हिस्सा ४७ प्रतिशत नाघ्यो

काठमाडौँ । नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा सार्वजनिक ऋणको अनुपात ४७.१३ प्रतिशत पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्ममा सरकारको कुल ऋण दायित्व २८ खर्ब ७८ अर्ब २९ करोड रुपैयाँ पुगेको हो ।

चालु आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रहेकोमा आठ महिनाको अवधिमा थप २ खर्ब ४ अर्ब २४ करोड ऋण थपिएको छ।

ऋणको संरचना र प्राप्ति:

कुल सार्वजनिक ऋणमा आन्तरिक र बाह्य ऋणको हिस्सा निम्नानुसार रहेको छ:

वैदेशिक ऋण: ५३.१६ प्रतिशत

आन्तरिक ऋण: ४६.८४ प्रतिशत

सरकारले चालु आर्थिक वर्षमा कुल ५ खर्ब ९५ अर्ब रुपैयाँ ऋण परिचालन गर्ने लक्ष्य राखेको थियो। फागुन मसान्तसम्ममा २ खर्ब ९५ अर्ब १९ करोड रुपैयाँ ऋण प्राप्त भएको छ, जुन वार्षिक लक्ष्यको ५०.४४ प्रतिशत हो। यसमध्ये आन्तरिक ऋणको प्राप्ति ६७.३१ प्रतिशत र बाह्य ऋणको प्राप्ति २४.३१ प्रतिशत रहेको छ ।

ऋण भुक्तानी (ऋण सेवा खर्च) को अवस्था:

सरकारले लिएको ऋणको साँवा-ब्याज भुक्तानीका लागि चालु आवमा ४ खर्ब ११ अर्ब १ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। फागुन मसान्तसम्ममा २ खर्ब ४२ अर्ब २६ करोड रुपैयाँ भुक्तानी भइसकेको छ । यो कुल विनियोजित बजेटको ५८.९४ प्रतिशत हो। जीडीपीको तुलनामा माघ मसान्तसम्मको ऋण सेवा खर्च ३.९७ प्रतिशत पुगेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै