मध्यपूर्वमा युद्ध चर्किंदा नेपाली अर्थतन्त्रलाई धक्का: महँगी बढ्ने, जीडीपी नकारात्मक हुने जोखिम

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा युद्ध चर्किंदै जाँदा त्यसले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा नेपाली अर्थतन्त्रमा प्रभाव पार्ने देखिएको छ । अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमण र खाडी मुलुकका अमेरिकी सैन्य अखडाहरूमा इरानले गरेको जवाफी हमलासँगै खाडी क्षेत्रमा युद्ध छेडिएको छ ।

सो क्षेत्रमा १७ लाखभन्दा बढी नेपाली छन्। यूएईमा एक जना नेपालीको ज्यान गएको त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ। युद्धमा नेपाल प्रत्यक्ष रूपमा संलग्न नभए पनि यसको प्रभाव नेपाली जिउधनमा देखिने जानकारहरू बताउँछन् ।

आयातमुखी र वैदेशिक रोजगारीमा निर्भर अर्थतन्त्रका कारण मध्यपूर्वको द्वन्द्वले नेपालको अर्थतन्त्रमा बहुआयामिक प्रभाव पार्न सक्छ । नेपालको अर्थतन्त्रको प्रमुख आधार रेमिट्यान्स हो । वैदेशिक रोजगारी मार्फत नेपालमा रेमिट्यान्स भित्रिने गर्छ । खाडी मुलुक नेपालको प्रमुख श्रम गन्तव्य हो। नेपाल राष्ट्र बैंकको २०७६ को एक रिपोर्ट अनुसार वैदेशिक रोजगारीमा नेपालीमध्ये आधाभन्दा बढी अर्थात् ५६.९ प्रतिशत साउदी अरब, दुबई, कतार लगायतका खाडी मुलुकमा जाने गर्छन् ।

नेपालको प्रमुख श्रम गन्तव्यको रूपमा रहेको खाडीमा युद्ध हुँदा त्यसको प्रभाव नेपालको अर्थतन्त्रमा पर्ने अर्थविद् डा केशव आचार्य बताउँछन् ।

‘रेमिट्यान्सको अधिकतम हिस्सा खाडी मुलुकले ओगटेको छ। ती मुलुकहरू पूर्ण रूपमा आक्रमणमा परेका छन्,’ आचार्यले भने, ‘युद्ध लम्बियो भने रेमिट्यान्स घट्ने सम्भावना रहन्छ।’ रेमिट्यान्स प्रभावमा संकुचन आउँदा नेपालको अर्थतन्त्र नै नकारात्मक दिशातर्फ अग्रसर हुन सक्ने जोखिम रहेको उनले बताए।

हाल नेपालको अर्थतन्त्र ६१ खर्ब ७ अर्ब रूपैयाँको छ। जसमा रेमिट्यान्सको हिस्सा २५ प्रतिशतभन्दा बढी छ। गत आर्थिक वर्षमा नेपालमा १७ खर्ब २३ अर्ब २७ करोड रेमिट्यान्स भित्रिएको थियो । ‘रेमिट्यान्स नआउँदा त्यसमा आश्रित परिवारको खर्च गर्न सक्ने क्षमतामा ह्रास आउँछ। अर्थतन्त्र सुस्त रहेको अवस्थामा रेमिट्यान्स आपूर्ति घट्दा अर्थतन्त्र संकुचनमा जाने जोखिम रहन्छ,’ आचार्यले भने ।

खाडी मुलुकबाट ५ प्रतिशत मात्रै रेमिट्यान्स रोकियो भने जीडीपी नकारात्मक दिशातर्फ अग्रसर हुने उनको भनाइ छ । श्रम विज्ञ डा. गणेश गुरुङ खाडी मुलुकमा युद्ध लम्बिदै जाँदा हरेक दिन नेपाल भित्रिने रेमिट्यान्समा प्रभाव पर्ने बताउँछन् । ‘युद्ध सुरु भएसँगै सम्बन्धित मुलुक र नेपाली दूतावासले नागरिकलाई सुरक्षित स्थानमा बस्न अनुरोध गरिरहेका छन्। यस्तोमा उद्योग, कलकारखाना बन्द हुन्छ । कम ठप्प हुँदा आम्दानीको बाटो बन्द हुन्छ । नेपाल भित्रिने रेमिट्यान्स पनि घट्छ,’ गुरुङले भने ।

यस्तै मध्यपूर्व तथा खाडी क्षेत्रमा पछिल्लो समय उत्पन्न भएको विषम परिस्थितिलाई ध्यानमा राख्दै नेपाल सरकारले ती क्षेत्रका विभिन्न देशहरूमा वैदेशिक रोजगारीका लागि दिइँदै आएको श्रम स्वीकृति अस्थायी रूपमा स्थगन गर्ने निर्णय गरेको छ । साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेवनन, टर्की र इजरायल गरी १२ देशमा तत्काललाई श्रम स्वीकृति स्थगित गरिएको हो ।

यसले खाडी मुलुकमा वैदेशिक रोजगारीमा रहेकाहरू बिनाकाम घरभित्र बस्दा श्रमिकहरूमा मानसिक चिन्ता बढ्नुका साथै नेपालका रहेका परिवारका सदस्यहरू पनि त्रासमा बाँच्नुपर्ने अवस्था देखिन्छ । ‘मध्यपूर्व हाम्रो रेमिट्यान्सको प्रमुख स्रोत हो । युरोप लगायत देशमा जानेहरू पीआरका लागि आम्दानी खर्च गर्छन्। मध्यपूर्वमा युद्ध लम्बिएमा रेमिट्यान्सको प्रभाव रोकिन्छ,’ गुरुङले भने ।

खाडी मुलुकहरूलाई तेलको भण्डारको रूपमा लिने गरिन्छ । विश्वको करिब एक तिहाइ पेट्रोलियम पदार्थको माग खाडी मुलुकहरूले धानिरहेका छन् । तेल उत्पादक मुलुकहरू युद्धमा होमिँदा पेट्रोलियको आपूर्तिमा अवरोध सिर्जना भई मूल्यवृद्धि हुने आचार्य बताउँछन् ।

‘माग अनुसार आपूर्ति नहुँदा विश्व बजारमै तेलको मूल्य बढ्छ। तेलको मूल्य बढ्दा सवारी साधनको भाडा वृद्धि हुन्छ। यसको प्रभावस्वरूप सम्पूर्ण वस्तुको मूल्य वृद्धि हुन्छ,’ आचार्यले भने । चालु आवको पुस मसान्तसँग विदेशी मुद्रा सञ्चिति ३२ खर्ब ४२ अर्ब ४५ करोड रूपैयाँ रहेको राष्ट्र बैंकको तथ्यांकमा देखिन्छ ।

‘तेल महँगिँदा नेपालको आयात खर्च बढ्ने र निर्यात कम हुँदा विदेशी मुद्रा सञ्चितिमा संकुचन आउनेछ। हाल विदेशी मुद्रा सञ्चितिमा सुविधाजनक अवस्थामा छौँ । रेमिट्यान्स प्रभाव घट्दा र व्यापार घाटा बढ्दा विदेशी मुद्रा सञ्चिति घट्दै जान्छ। यसले मुलुकको अर्थतन्त्रलाई थप जटिल अवस्थामा पुर्‍याउँछ,’ आचार्यले भने ।

हालको युद्धले नेपालको अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याइरहेको पर्यटन क्षेत्रमा पनि असर पर्ने देखिन्छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजकुमार क्षेत्रीले खाडी मुलुकमा युद्धको बादल मडारिँदा नेपालको पर्यटन व्यवसाय पनि मर्कामा पर्ने बताए ।

‘नेपाल आउने पर्यटक र विदेश जाने नेपालीहरूका लागि मध्यपूर्वका देशहरू मुख्य ट्रान्जिट रुट हुन्। कतार एयरवेज, टर्किस एयर, इमिरेट्स लगायत हवाई कम्पनी यी देशबाट सञ्चालन हुन्छ। युद्धका कारण यी देशका एयरपोर्टहरू बन्द भएका छन्। युद्ध लम्बिएमा असुरक्षाका कारण पर्यटकहरू यात्रा गर्न रुचाउँदैनन्। ट्रान्जिट रुटका उडान कटौती हुँदा अन्य स्थान हुँदै नेपाल आउन पर्यटकलाई महँगो पर्छ,’ क्षेत्रीले भने ।

नेपाल एयरलाइन्स र हिमालय एयरले पनि यी क्षेत्रमा आफ्नो नियमित उडान रद्द गरेका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै