
जेनजी आन्दोलनको नाममा निजी क्षेत्रमाथि प्रहार भयो, आन्दोलनले भ्रष्टाचारविरुद्धको आक्रोश उजागर गर्यो
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले ‘जेनजी आन्दोलन’ को नाममा निजी क्षेत्रमाथि व्यक्तिगत प्रहार भएको बताएका छन् ।
शुक्रबार ललितपुर उद्योग वाणिज्य संघको ४६औँ वार्षिक साधारण सभा तथा उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले निजी क्षेत्रलाई सिधैँ व्यक्तिगत रूपमा प्रहार गर्ने र छानी(छानी व्यवसाय तथा घर आगजनी गर्ने काम भएको उल्लेख गरे । उनले सधैँ निजी क्षेत्रप्रति किन प्रहार हुन्छ भनेर सोच्ने बेला आएको बताउँदै यसमा निजी क्षेत्रको पनि कतै कमजोरी छ कि भनी पहिचान गरी सुधार गर्नुपर्ने आवश्यकता औँल्याए ।
यद्यपि, उनले जेनजी युवाहरूको प्रयासको प्रशंसा पनि गरे । जेनजी युवाहरू परिवर्तनका संवाहक बनेर राज्यमा नयाँ परिवर्तन ल्याएको उनको भनाइ छ। उनले यो आन्दोलनले बेथिति, विसङ्गति र भ्रष्टाचारविरुद्ध आम जनताको मनमा रहेको आक्रोशलाई उजागर गरेको भन्दै ती युवाहरूलाई नमन गर्नुपर्ने बताए ।
साथै, उनले आगामी फागुनमा हुन लागेको निर्वाचन समयमा नै सम्पन्न गर्नका लागि सहज वातावरण बनाउन निजी क्षेत्रले पनि सक्रिय भूमिका खेल्नुपर्ने आवश्यकतामा जोड दिए ।