सम्पत्ति शुद्धीकरण प्रकरण: शंकर ग्रुपका सञ्चालक र दीपक भट्टमाथि अनुसन्धान तीव्र

काठमाडौँ । देशको अर्थतन्त्रका विभिन्न क्षेत्रमा प्रभाव जमाउँदै आएको व्यावसायिक घराना शंकर ग्रुपका सञ्चालकहरू र बिचौलियाको आरोप लाग्दै आएका व्यवसायी दीपक भट्टमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान सुरु भएको छ । सोही प्रकरणमा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल र सञ्चालक सुलभ अग्रवाल पक्राउ परेका छन् ।

विभागले अध्यक्ष शंकरलाललाई हाजिरी जमानीमा रिहा गरे पनि सुलभ अग्रवाल भने नियन्त्रणमै छन्। यस्तै, अर्का सदस्य साहिल अग्रवालविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । अर्का व्यवसायी दीपक भट्टलाई यसअघि नै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले नियन्त्रणमा लिइसकेको छ ।

के हो मुख्य प्रकरण ?

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको प्रारम्भिक छानबिनअनुसार, यो समूहले पब्लिक लिमिटेड कम्पनीहरूको रकम व्यक्तिगत लाभका लागि दुरुपयोग गरेको देखिएको छ ।

छानबिनका मुख्य बुँदाहरू:

रकम दुरुपयोग:

दीपक भट्ट र उनको समूहले हिमालयन रि-इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स र नेपाल माइक्रो इन्स्योरेन्स जस्ता पब्लिक कम्पनीबाट ३ अर्ब ७३ करोड रुपैयाँ भृकुटी स्टक ब्रोकरमार्फत ‘एडभान्स’ निकालेको देखिएको छ।

सेयर खरिद:

सोही रकम प्रयोग गरी नेपाल रि-इन्स्योरेन्सको २० लाख कित्ता सेयर (करिब २ अर्ब ८९ करोड रुपैयाँ बराबर) दीपक भट्टको नाममा खरिद गरिएको दाबी गरिएको छ।

शंकास्पद ट्रान्सफर:

सुलभ अग्रवालकी पत्नी शुभी अग्रवालको खातामार्फत दीपक भट्टको खातामा ६२ करोड रुपैयाँ र ऋषिराज मोरलाई २३ करोड रुपैयाँ ट्रान्सफर भएको विषयमा पनि अनुसन्धान भइरहेको छ।

‘क्याप्चर इकोनोमी’ र नीतिगत सेटिङको आरोप

अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार भट्ट–अग्रवाल समूहले ‘क्याप्चर इकोनोमी’ (अर्थतन्त्र कब्जा) को रणनीति अपनाउँदै नियामक निकाय र नीतिगत निर्णयमा प्रभाव जमाएको आरोप छ। राजनीतिक पहुँचका आधारमा बीमा, पुनर्बीमा र वित्तीय संस्थाका लाइसेन्स लिएको र पब्लिक कम्पनीको पैसाले निजी सेयर साम्राज्य खडा गरेको अनुसन्धानको सुई सोझिएको छ ।

बैंकिङ क्षेत्रमा त्रास

शंकर समूहले विभिन्न वाणिज्य बैंकहरूबाट झन्डै एक खर्ब रुपैयाँ बराबरको कर्जा सुविधा लिएको तथ्य बाहिर आएको छ । हालसम्म कर्जा भुक्तानी नियमित रहे पनि सञ्चालकहरू पक्राउ परेपछि बैंकहरूको खराब कर्जा (NPL) बढ्न सक्ने भन्दै बैंकरहरूले चिन्ता व्यक्त गरेका छन् ।

बहुपक्षीय छानबिन

शंकर समूह स्टील, सिमेन्ट, अटोमोबाइल, होटल र बीमालगायत ४० भन्दा बढी क्षेत्रमा सक्रिय छ। कोभिड-१९ को समयमा थर्मल गन कालोबजारी प्रकरणमा समेत सुलभ अग्रवाल पक्राउ परेका थिए ।

हाल यो प्रकरणमा निम्न निकायहरूले छुट्टाछुट्टै अनुसन्धान गरिरहेका छन्:-

१. सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग
२. नेपाल प्रहरी (CIB)
३. अख्तियार दुरुपयोग अनुसन्धान आयोग
४. राजस्व अनुसन्धान विभाग

यदि यी आरोपहरू पुष्टि भएमा नेपालको आर्थिक सुशासन र वित्तीय अपराध नियन्त्रणका लागि यो प्रकरण एउटा ऐतिहासिक मोड सावित हुने देखिन्छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै