जेनजी आन्दोलन प्रकरणमा पक्राउ परेका पूर्व सिडीओ छवि रिजाल हाजिर जमानीमा रिहा

काठमाडौँ ।  जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा पक्राउ परेका काठमाडौँका पूर्व प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले हाजिर जमानीमा रिहा गरेको छ । उनलाई आवश्यक परे उपस्थित हुने सर्तमा छाडिएको प्रहरीले जनाएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार काठमाडौँको सुविधानगर क्षेत्रबाट रिजाललाई नियन्त्रणमा लिएको थियो । त्यसपछि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखी जेनजी प्रदर्शनका क्रममा बानेश्वर क्षेत्रमा भएको घटनाबारे विस्तृत सोधपुछ गरिएको थियो ।

प्रहरी स्रोतका अनुसार प्रारम्भिक अनुसन्धानका लागि आवश्यक जानकारी संकलन गरिसकेपछि तत्कालका लागि हिरासत आवश्यक नरहेको निष्कर्षमा पुग्दै हाजिर जमानीमा रिहा गरिएको हो। यद्यपि, अनुसन्धान प्रक्रिया भने अझै जारी रहेको छ ।

यो प्रकरण भदौ २३ र २४ गते काठमाडौँमा भएको जेनजी आन्दोलनसँग जोडिएको छ, जहाँ बानेश्वर क्षेत्रमा किशोरहरूको ज्यान जानेगरी गोली चलेको घटनाले व्यापक बहस सिर्जना गरेको थियो । सो घटनाको छानबिन गर्न गठन गरिएको गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले तत्कालीन प्रशासनिक नेतृत्वको भूमिकामाथि प्रश्न उठाउँदै रिजाललाई दोषी ठहर गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो ।

रिजालमाथि प्रदर्शन नियन्त्रणका क्रममा घातक गोली चलाउन निर्देशन दिएको आरोप लाग्दै आएको छ । तर उनले आयोगसमक्ष दिएको बयानमा आफूले त्यस्तो आदेश नदिएको दाबी गरेका छन् ।

सरकारले उक्त आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै यस प्रकरणमा उच्च तहका व्यक्तिहरूमाथि पनि कारबाही प्रक्रिया अघि बढाइएको छ । यसअघि नै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई समेत नियन्त्रणमा लिइसकिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै