‘अध्यागमनमा सेटिङ मिलाउँछु’ भन्दै ठगी गर्ने जगत गुरुङ रंगेहात पक्राउ

काठमाडौँ । दक्षिण कोरियाको सिजनल (मौसमी) भिसामा वैदेशिक रोजगारीमा पठाइदिने र त्यसका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा ‘सेटिङ’ मिलाउनुपर्ने भन्दै सर्वसाधारणबाट रकम असुल्ने एक व्यक्ति पक्राउ परेका छन् ।

अध्यागमन विभागले ४७ वर्षीय जगत गुरुङलाई लाजिम्पाटस्थित उनकै कार्यालय के एण्ड सी इन्टरनेशनल प्रालिबाट १ लाख रुपैयाँ लिँदै गर्दा रंगेहात नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका गुरुङले सोलुखुम्बु घर भएका दुई यात्रुहरूलाई दक्षिण कोरिया पठाइदिने भन्दै जनही १ लाख १० हजार रुपैयाँ माग गरेका थिए । उनले यात्रुहरूलाई त्रिवि अध्यागमन कार्यालयमा आफ्नो सेटिङ रहेको र सेटिङ बिना गएमा फिर्ता हुनुपर्ने भन्दै त्रसित पारेका थिए ।

‘सेटिङ मिलाएर मात्र यस्तो भिसामा जान सकिन्छ, नत्र अध्यागमनले फर्काइदिन्छ र तपाईंको हवाई टिकट पनि खेर जान्छ,’ भन्दै उनले पीडितहरूलाई विश्वासमा पार्न खोजेका थिए । पीडितहरूले आफूसँग पर्याप्त पैसा नभएको बताएपछि उनले १० हजार रुपैयाँ ‘छुट’ दिने आश्वासन समेत दिएका थिए ।

बिचौलियाको कुरामा शंका लागेपछि पीडितहरूले अध्यागमन विभागमा उजुरी गरेका थिए । उजुरी प्राप्त भएलगत्तै विभागले नेपाल प्रहरीको अपराध अनुसन्धान ब्यूरो (CIB) सँग समन्वय गरी अपरेशन चलाएको अध्यागमन विभागका प्रवक्ता एवम् निर्देशक टीकाराम ढकालले बताए । पक्राउ परेका गुरुङलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा बुझाइएको छ।

६ देखि ८ महिनाको छोटो अवधिका लागि दक्षिण कोरियामा कामदार पठाउन विभिन्न स्थानीय तहले सम्झौता गरे पनि वैदेशिक रोजगार विभागले १ वर्षभन्दा कम अवधिको भिसामा श्रम स्वीकृति दिँदैन । यद्यपि, अध्यागमनले यस्तो भिसामा सहज प्रस्थान अनुमति दिँदै आएको छ, जसको फाइदा उठाउँदै बिचौलियाहरूले ठगी गर्ने गरेका छन् ।

यस्ता बिचौलियाहरूको जालो तोड्न र सर्वसाधारणको विदेश भ्रमण सुरक्षित बनाउन गृह मन्त्रालयले भिजिट भिसा सम्बन्धी मापदण्ड परिमार्जन गरेको छ । सम्बन्धित मुलुकको भिसा, कम्तीमा ६ महिना वैध अवधि भएको राहदानी र गन्तव्यसम्मको हवाई टिकट, यात्रुले अनिवार्य रूपमा स्वघोषणा फारम भर्नुपर्ने व्यवस्था गरिएकाे छ ।

साविकमा आवश्यक पर्ने दुईतर्फी हवाई टिकट, होटल बुकिङ र ५०० अमेरिकी डलर बराबरको अनिवार्य विदेशी मुद्राको व्यवस्थालाई परिमार्जन गरी सहज बनाइएको छ । अध्यागमन विभागका प्रवक्ता ढकालले यस्ता ठगीबाट बच्न र आधिकारिक प्रक्रिया मात्र अवलम्बन गर्न सबैमा अनुरोध गरेका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै