काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष उपेन्द्र महतोले नेपाललाई समृद्ध बनाउन नेपालीहरूसँग पर्याप्त क्षमता भए पनि दृढ संकल्पको अभाव रहेको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित गैरआवासीय नेपाली संघको १२औँ एकता महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
महतोले नेपालीहरू बौद्धिक, आर्थिक, शारीरिक र मानसिक रूपमा देश विकासका लागि सक्षम रहेको उल्लेख गर्दै संकल्प गरेमा छोटो समयमै आर्थिक समृद्धि हासिल गर्न सकिने धारणा राखे ।
लगानीका लागि एनआरएनएलाई आग्रह
संस्थापक अध्यक्ष महतोले गैरआवासीय नेपालीहरूलाई सरकारसँग गुनासो मात्र नगर्न आग्रह गरे। “सबै कुरा राम्रो भएको भए हाम्रो आवश्यकता नै पर्ने थिएन,” उनले भने, “जुन बेला देश अप्ठ्यारोमा छ र नियम-कानुनहरू जटिल छन्, त्यही बेला हामी आएर देश बनाउने अभियान अगाडि बढाउनुपर्छ ।”
उनले स्वदेशी र गैरआवासीय नेपालीको लगानी सुरक्षित र सक्रिय नभएसम्म वैदेशिक लगानी भित्रिन नसक्ने ठोकुवा गरे। “जबसम्म गैरआवासीय र नेपालभित्रकै लगानीकर्ताको लगानी सहज रूपमा अघि बढ्दैन, तबसम्म अन्य विदेशी लगानीकर्ता आउँदैनन्,” उनले स्पष्ट पारे ।
१०० बिलियन डलरको अर्थतन्त्रको खाका
आगामी १० वर्षमा नेपालको अर्थतन्त्रलाई सजिलै १०० बिलियन डलरको बनाउन सकिने महतोको दाबी छ। उनले नेपालभित्र र बाहिर रहेका नेपालीहरूको आर्थिक गतिविधिलाई एकीकृत गर्ने हो भने अर्थतन्त्र अहिले नै सो उचाइको नजिक पुगिसकेको बताए ।
तथ्याङ्क प्रस्तुत गर्दै उनले भने, “सन् २००३ मा ३० लाख नेपाली बाहिर हुँदा ५ बिलियन डलर रेमिट्यान्सको कुरा हुन्थ्यो, आज ८० लाख बाहिर हुँदा २० बिलियन डलरको कुरा भइरहेको छ ।
देशको जीडीपी नेपालभित्र जति छ, त्यति नै नेपाल बाहिर पनि पुगिसकेको छ।” उनले नेपाल भित्र र बाहिरको आर्थिक शक्ति जोड्दा अहिले नै झन्डै १०० बिलियन डलर पुग्न लागेको भन्दै अबको दशकमा यसलाई औपचारिक रूपमै हासिल गर्न सकिने बताए ।