ओखलढुंगा । ओखलढुंगामा शृंखलाबद्ध रूपमा हत्या र लुटपाटमा संलग्न चार जनाको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), कोशी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेहरूमा चिशंखुगढी गाउँपालिकाका मिलन भन्ने संगम राई (२८), विनोद राई (३०), प्रकाश भुजेल (३०) र अशोक भुजेल (३०) रहेका छन् ।
अनुसन्धानका क्रममा अभियुक्तहरूले घटना घटाइसकेपछि शवलाई मिलाएर राख्ने तथा प्रमाण लुकाउने प्रयास गरेको पनि खुलेको छ । दुबै घटनाको प्रकृति, शैली र लुटपाटको तरिका समान देखिएकाले एउटै गिरोह संलग्न रहेको निष्कर्षमा प्रहरी पुगेको हो । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख (डिएसपी) मदन केसीका अनुसार प्रतिवादीहरुको मुख्य उद्देश्य लुटपाट नै भए पनि, पिडितहरु नजिककै व्यक्ति भएकाले चिन्न सक्ने सम्भावना रहेकाले पीडितको ज्यान लिने गरेको पाईएको अनुसन्धानबाट खुलेको छ । यही कारण घटनाहरू अत्यन्त निर्मम र योजनाबद्ध रूपमा घटाइएको उनले बताए ।
अनुसन्धानका क्रममा प्रहरीले हत्या प्रयोजनमा प्रयोग भएको बन्चरो र खुकुरी, लुटपाटपछि सुन पगालेर बनाइएको १ थान रिङ, रिचार्ज कार्ड, दुई नाल भरुवा बन्दुक तथा चार थान मोबाइल फोन बरामद गरेको छ । उक्त घटनाको थप अनुसन्धान नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर तथा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको संयुक्त टोलीले गरिरहेको छ। पक्राउ परेका व्यक्तिहरूविरुद्ध कर्तव्य ज्यान, डाँका तथा हातहतियार खरखजाना सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
यसरी खुलेको थियो रहस्य
प्रहरीका अनुसार यो गिरोहले पछिल्लो तीन महिनामा दुईवटा छुट्टाछुट्टै घटनामा तीन जनाको वीभत्स हत्या गरेको थियो ।

१. दम्पती हत्या (पुस १५ गते): चिशंखुगढी गाउँपालिका–६, भदौरेका किराना पसल सञ्चालक ६० वर्षीय शोभितमान थापा मगर र उनकी पत्नी रत्नमायाको हत्या भएको थियो । कोदालो र धारिलो हतियार प्रहार गरी हत्या गरेपछि उनीहरूले १ लाख नगद र ८ तोला सुन लुटपाट गरेका थिए । शवलाई गोठमा स्याउलाले छोपेर उनीहरू फरार भएका थिए ।
२. एकल महिला हत्या (असोज २६ गते): पक्राउ परेकाहरूसँगको प्रारम्भिक सोधपुछका क्रममा तीन महिनाअघि सिद्धिचरण नगरपालिका–४ की ५२ वर्षीया रत्नकुमारी कटवालको हत्यामा पनि उनीहरूकै संलग्नता पुष्टि भएको छ । कटवाललाई बन्चरो प्रहार गरी हत्या गरेपछि सुन र नगद लुटिएको थियो ।
बरामद दसी र प्रहरीको दाबी
प्रहरीले अभियुक्तहरूको साथबाट हत्यामा प्रयोग गरिएको बन्चरो, लुटिएको सुन गालेर बनाइएको रिङ, रिचार्ज कार्ड, दुई नाल भरुवा बन्दुक र मोबाइल फोनहरू बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी मदन केसीका अनुसार यो गिरोहको मुख्य उद्देश्य लुटपाट नै देखिएको छ ।
“अभियुक्तहरूले आर्थिक अवस्था कमजोर भएका कारण मादक पदार्थ सेवन गर्ने र लुटपाटका लागि हत्या गर्ने गरेको देखिन्छ,” अनुसन्धानमा खटिएका एक अधिकृतले भने, “उनीहरूले घरमा एक्लै बस्ने वृद्धवृद्धालाई निसाना बनाउने र त्यस्ता व्यक्तिहरूको फोटोसमेत संकलन गर्ने गरेको पाइएको छ ।”
गाउँमा त्रास, प्रहरीको अपिल लामो समयदेखि हत्यारा पत्ता नलाग्दा गाउँमा त्रास फैलिएको थियो । गिरोह पक्राउ परेपछि प्रहरीले अब जनजीवन सामान्य हुने भन्दै ढुक्क हुन स्थानीयलाई अपिल गरेको छ । अभियुक्तहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।