काठमाडौँ । कास्कीमा विद्यालयको जग्गा नक्कली सुकुम्बासीलाई दिलाएको आरोपमा तत्कालीन भूमि आयोगका अध्यक्ष गंगाप्रसाद पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालत काठमाडौँमा उनीहरूविरुद्ध मुद्दा दर्ता गरेको हो।
के हो घटना ?
पोखरा महानगरपालिका वडा नम्बर २६ स्थित सामुदायिक अमर ज्योति आधारभूत विद्यालयको ३ रोपनी ३ आना जग्गा व्यक्तिको नाममा दर्ता गराएको अख्तियारको ठहर छ। जग्गा लिने भीमबहादुर विकले आफ्नी श्रीमती सुकमाया कामीलाई ‘नक्कली सुकुम्बासी’ खडा गरी झुटा विवरण पेस गरेका थिए।
को-को विरुद्ध मुद्दा दायर भयो ?
अख्तियारले मुख्य दोषी ठहर गर्दै निम्न व्यक्तिहरूलाई विपक्षी बनाएको छ:
१. गंगाप्रसाद पोखरेल: तत्कालीन अध्यक्ष, भूमि आयोग कास्की।
२. रामचन्द्र अधिकारी: तत्कालीन प्रमुख मालपोत अधिकृत, मालपोत कार्यालय कास्की।
३. आशबहादुर गुरुङ: तत्कालीन सदस्य, भूमि आयोग।
४. उमाकुमारी थापा: तत्कालीन सदस्य, भूमि आयोग।
५. सोमबहादुर नेपाली: तत्कालीन सदस्य, भूमि आयोग।
६. भीमबहादुर विक: जग्गा प्राप्त गर्ने व्यक्ति।
अख्तियारको दाबी र बिगो
अख्तियारका अनुसार भीमबहादुरले पेस गरेको झुटा विवरणलाई मालपोत अधिकृत अधिकारीले प्रमाणित गरेको र आयोगका अध्यक्ष पोखरेलले श्रेस्ता कायम गर्न पत्राचार गरेको पाइएको छ । अख्तियारले उनीहरूमाथि १ करोड ४९ लाख २५ हजार रुपैयाँ बिगो दाबी गर्दै सजायको माग गरेको छ ।