काठमाडौँ । वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने प्रलोभन देखाई १० लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सुनसरीको इनरुवा नगरपालिका–१ घर भई हाल काठमाडौँको कीर्तिपुर बस्ने ३८ वर्षीय विशाल कटुवाल रहेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) काजीकुमार आचार्यका अनुसार कटुवाललाई कीर्तिपुरबाट पक्राउ गरिएको हो।
ठगीको शैली कटुवालले बेरोजगार युवायुवतीलाई न्युजिल्यान्डमा आकर्षक तलब हुने प्रलोभन देखाएर रकम असुल गर्ने र त्यसपछि सम्पर्कविहीन हुने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। पीडितहरूले दिएको उजुरीका आधारमा उनलाई विशेष टोलीले नियन्त्रणमा लिएको हो।
थप कारबाही पक्राउ परेका कटुवाललाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि सोमबार नै वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रवक्ता आचार्यले जानकारी दिए।