इटहरी । भोजपुरको दिङ्लाबाट उपचारका लागि इटहरी आएकी पवीमाया बयलकोटीको आफ्नै ज्वाइँले हत्या गरेका छन्। इटहरी जनता बस्तीमा बस्दै आएका ज्वाइँ गणेश साह गुप्ताले पानी तान्ने ट्युबेलको हेन्डलले टाउकामा प्रहार गरी सासूको हत्या गरेका हुन् ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार, आइतबार राति भएको पारिवारिक झगडालाई साम्य पार्न खोज्दा यो दुखद घटना घटेको हो । बयलकोटी आफ्ना पतिसहित उपचारका लागि इटहरी आएकी थिइन् र उनी अर्की छोरीको घरमा बस्दै आएकी थिइन् ।
छोरी-ज्वाइँबीच झगडा भएको सुनेपछि सम्झाउन पुगेकी पवीमायालाई सोही क्रममा गणेशले आक्रमण गरेका थिए। संयोगवश, उनी उपचार सकेर सोमबार भोजपुर फर्किने तयारीमा थिइन्। तर, फर्किनु अघिल्लो राति नै उनको हत्या भएको प्रहरीले जनाएको छ ।
घटनालगत्तै फरार भएका अभियुक्त गणेश साहलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ ।