काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई करोड १० लाख रुपैयाँ बिगो बराबरको बैंकिङ कसुर मुद्दामा फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा एसएन सप्लायर्सका प्रोपाइटर सन्तोषकुमार साह रहेका छन् । धनुषा घर भई हाल काठमाडौँ बस्ने साहलाई कार्यालयबाट खटिएको टोलीले बिहीबार काठमाडौँ महानगरपालिका-४, चन्डोलबाट पक्राउ गरेको हो ।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार साह विरुद्ध सुमितकुमार खेतानले जाहेरी दिएका थिए । साहमाथि झापामा ३० लाख, महोत्तरीमा एक करोड ७२ लाख र धनुषामा आठ लाख रुपैयाँ बराबरको बैंकिङ कसुर गरेको अभियोग छ ।
झापा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि फरार रहेका उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको प्रवक्ता आचार्यले जानकारी दिए ।