
चक्रे’ समूहमा आबद्ध थेवे धुम्बाराही क्षेत्रमा धम्क्याएर रकम असुलीमा सक्रिय
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको भङ्गालस्थित घरमा आगजनी गर्ने गुन्डा सूचीका सोनम थेवे एमालेका कार्यकर्ता भएको खुलेको छ।
प्रहरीले पक्राउ गरेका थेवे सिरिजङ्घा गाउँपालिका–१ सिनाम स्थायी घर भई हाल काठमाडौंको धुम्बाराहीमा बस्ने गरेको खुलेको हो। उनी गुन्डा नाइके मिलन गुरुङ (चक्रे) को समूहमा आबद्ध रही गुन्डागर्दीमा सक्रिय रहेका कारण प्रहरीले १३१ जनाको सूचीमा राखेको थियो।
राष्ट्रिय युवा सङ्घमा आबद्ध थेवे ताप्लेजुङ पुगेपछि प्रहरीको नियन्त्रणमा आएका हुन्।
थेवे भदौ २४ गते जेनजी आन्दोलनको दोस्रो दिन भङ्गालस्थित पूर्वराष्ट्रपति भण्डारीको घर तोडफोड तथा आगजनीमा संलग्न रहेको खुलेको हो।
थेवेले धुम्बाराही क्षेत्रका व्यवसायीलाई धम्की दिई रकम असुल गर्ने गर्दै आएको प्रहरी बताउँछ। होटल तथा रात्री व्यवसायी, जग्गा व्यवसायीसँग हप्ता उठाउने काममा थेवेको संलग्नता रहेको क्रिमिनिल रिपोर्ट पनि फेला परेको छ।