
काठमाडौँ । ललितपुरबाट सशस्त्र प्रहरी बलले ५० किलोभन्दा बढी चाँदी बरामद गरेको छ । अवैध चाँदीसहित एक भारतीय नागरिकलाई बिहीबार दिउँसो नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
पक्राउ पर्नेमा भारतको घोरसहन, पूर्वी चम्पारण घर बताउने ३१ वर्षीय अभिशेख शेख (चाँदीका गरगहना कारोबार गर्ने) रहेका छन् । उनलाई ललितपुर महानगरपालिका–१६, धौगलबाट पक्राउ गरिएको हो ।
डीएसपी थापाका अनुसार, शेखले भारतबाट अवैध रूपमा नेपाल ल्याई विभिन्न किसिमका चाँदीका गरगहनाको बेचबिखन गर्दै आएको भन्ने विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गण, ललितपुरले उनलाई नियन्त्रणमा लिएको हो।
बरामद सामान तथा नगद विवरण:
सशस्त्र प्रहरीले उनको साथबाट निम्न सामग्रीहरू बरामद गरेको छ:
चाँदीका गहना: ५० किलो ७४ ग्राम
नेपाली रुपैयाँ (नगद): १२ लाख ९१ हजार ९० रुपैयाँ
भारतीय रुपैयाँ (नगद): १ हजार २ सय ७० रुपैयाँ
अन्य सामान: चाँदी तौल गर्ने मेसिन १ थान, इलेक्ट्रिक साइकल १ थान, आइप्याड १ थान र मोबाइल सेट १ थान।
नियन्त्रणमा लिइएका व्यक्ति र बरामद सबै सामानलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहर भवन पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।