
काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमार्फत ६२ लाखभन्दा बढी रकम ठगी गरेको आरोपमा एक युवालाई प्रहरीले नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरीको देवानगञ्ज गाउँपालिका-१ का २० वर्षीय कुशेश्वर मेहता रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता योगराज खतिवडाका अनुसार मेहताले ‘भानिदा सुवन’ नामको नक्कली फेसबुक आइडी बनाएर आफूलाई ‘फुइङ भानिदा’ नामक थाइल्याण्डको नागरिक तथा सिएम कमर्सियल बैंकको म्यानेजर भएको झुठो परिचय दिँदै आएका थिए।
मेहताले पीडित कुर्मराज शाहीलाई ‘एलेन अर्बी शाही’ नामक व्यक्तिको बैंकमा खाता रहेको, उनको कोही पनि नातेदार नभएको र पीडितको जात मिल्ने भएकाले उक्त खातामा रहेको सम्पूर्ण रकम उनको नाममा राखिदिने भनी प्रलोभन देखाएर ठगी गरेको प्रहरीले जनाएको छ।
सोही प्रलोभनमा परी पीडित कुर्मराज शाहीले विभिन्न मितिमा मेहताको नाममा रहेको बैंक खातामा कुल ६२ लाख ७५ हजार २०० रुपैयाँ पठाएका थिए। अनुसन्धानका क्रममा पीडितलाई झुठो विश्वास दिलाएर ठगी गरिएको पुष्टि भएको प्रहरी प्रवक्ता खतिवडाले बताए।
लामो समयदेखि फरार रहेका मेहतालाई जिल्ला प्रहरी कार्यालयको टोलीले मंगलबार साँझ सुनसरीको कोशी गाउँपालिका-८ भण्टाबारीस्थित नेपाल-भारत सीमा क्षेत्र नजिकै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो। पक्राउ परेका मेहतालाई थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीका लागि नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्युरो भोटाहिटी, काठमाडौँ पठाइएको प्रवक्ता खतिवडाले जानकारी दिए ।