भारत बैंगलोर चोरी काण्ड : ३५ भन्दा बढी नेपाली पक्राउ

सुर्खेत । भारतको कर्नाटक राज्यको बैंगलोरस्थित लालबहादुर शास्त्री नगरमा भएको चोरी घटनापछि ३५ भन्दा बढी नेपाली भारतीय प्रहरीको नियन्त्रणमा परेका छन्।

बैंगलोरमा रहेका नेपालीहरूका अनुसार, उक्त चोरी घटनामा नेपाली नागरिक राज र दीपा संलग्न रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। उनीहरू बैंगलोरका व्यवसायी तथा राजनीतिक दलका पदाधिकारीसमेत रहेका एस. रमेश बाबूको घरमा घरेलु कामदारका रूपमा तीन महिनाअघि मात्र नियुक्त भएका थिए।

रमेश बाबू र उनको परिवार २७ मेका दिन तीर्थयात्राका लागि तिरुपति गएका थिए। त्यही समय छोपेर राज, दीपा र उनीहरूका अन्य साथीसहित चोरी भएको प्रहरीको भनाइ छ। २८ मे बिहान रमेशले घरको सीसीटीभी फुटेज जाँच गर्दा उपकरण बन्द देखेपछि छिमेकीमार्फत घरको अवस्था बुझ्दा चोरीको घटना खुलेको हो।

भारतीय प्रहरीले विशेष टोली गठन गरेर दीपा, राज र अन्य तीन जना फरार संदिग्धहरूको खोजी थालेको छ। घटनासँग सम्बन्धित हुनसक्ने आशंकामा बैंगलोरमा कार्यरत ३५ भन्दा बढी नेपालीलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको स्थानीय नेपालीहरूको भनाइ छ।

बैंगलोर नेपालीहरूको रोजगारीको नयाँ गन्तव्यका रूपमा पछिल्लो समय चर्चित बन्दै आएको छ। विशेषगरी कर्णाली र सुदूरपश्चिम क्षेत्रका नेपालीहरू परिवारसहित घरेलु कामदारको रूपमा त्यहाँ बसोबास गर्दै आएका छन्।

विगत १२ वर्षदेखि बैंगलोरमै कार्यरत अछामका रामबहादुर विकका अनुसार, बैंगलोर पहिले दिल्ली र मुम्बईभन्दा सुरक्षित मानिन्थ्यो। तर, केही आपराधिक गतिविधिमा नेपालीहरूको संलग्नतापछि सामान्य र सोझा नेपालीहरू पनि अप्ठ्यारोमा पर्न थालेका छन्।

“पहिले दिल्ली र मुम्बईमा बदमासहरूले चोरी गरेर साधारण नेपालीलाई अप्ठ्यारोमा पार्थे, अहिले त्यही हालत बैंगलोरमा देखिन थालेको छ,” उनले भने।

प्रहरीको अनुसन्धान जारी
भारतीय प्रहरीले चोरीको प्रकृति हेर्दा पूर्व योजना अनुसारको सामूहिक संलग्नता रहेको आशंका गरेको छ। अनुसन्धान प्रक्रिया अघि बढेसँगै बैंगलोरस्थित नेपाली समुदायमा त्रास फैलिएको छ।

प्रहरीले नेपालीहरूलाई सहयोग गर्न अपील गरे पनि सम्पूर्ण नेपाली समुदायलाई नै शङ्काको घेरामा राखिनु अन्यायपूर्ण भएको भन्दै कतिपय नेपालीले असन्तुष्टि पनि जनाएका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै