यातायात कार्यालयका अधिकृत गौतमविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, पर्साका अधिकृत  (आठौँ तह) कमलराज गौतमविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। गौतमले पदमा बहाल रहँदा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा मंगलबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो।

आयोगका अनुसार, गौतमले २०५५ वैशाख ७ गते सार्वजनिक पद धारण गरेदेखि २०७९ चैत २४ गतेसम्मको आयव्यय जाँच गर्दा अकुत सम्पत्ति कमाएको देखिएको छ। यस अवधिमा गौतमको पारिश्रमिक बचत, बैठक भत्ता, पर्यटन काजको बचत रकम, उनकी श्रीमती सरला नेपालको पारिश्रमिक बचत र भ्रमण भत्ता बचत रकमलगायतका विभिन्न शीर्षकबाट २ करोड ८९ लाख २० हजार २६८ रुपियाँ वैधानिक आय देखिएको थियो।

तर, सोही अवधिमा गौतमले विभिन्न शीर्षकमा ५ करोड ४० लाख ९८ हजार ९०० रुपियाँ बराबरको सम्पत्ति खर्च तथा लगानी गरेको पाइएको अख्तियारले जनाएको छ।

गौतमको कुल वैधानिक आयबाट खर्च तथा लगानी घटाउँदा २ करोड ५१ लाख ७८ हजार ६८७ रुपियाँ ७१ पैसाको स्रोत पुष्टि हुन नसकेको आयोगको दाबी छ। अख्तियारले गौतमसँग सोही रकमबराबर बिगो माग गर्दै भ्रष्टाचार निवारण ऐनअनुसार कारबाही गर्न माग गरेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै