
काठमाडौँ । टिकटकर रमा बस्नेत पक्राउ परेकी छिन् । प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीको टोलीले बस्नेतलाई पक्राउ गरेको हो । उनले टिकटकमार्फत प्रतिष्ठित व्यक्ति तथा संस्था लक्षित तथ्यहिन विषयहरु प्रस्तुत गरेको पाइएको साइबर ब्यूरोका प्रवक्ता तथा एसपी दीपकराज अवस्थीले बताए ।
उनको घर भने खोटाङको हलेसीतुवाचुङ नगरपालिका–६ रहेको प्रहरीले बताएको छ । भक्तपुरबाट आइतबार पक्राउ परेकी उनलाई काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद लिएर साइबरर अपराध कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ । टिकटकमा सक्रिय रहेको उनका तीन/चार वटा आईडी रहेको एक अनुसन्धान अधिकृतले बताए ।
३१ वर्षीया बस्नेतलाई आइतबार पक्राउ गरेर अदालतबाट ३ दिनको म्याद लिएर अनुसन्धान थालिएको साइबर ब्युरोका एसपी अवस्थीले बताए । उनीविरुद्ध प्रहरीले विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा अनुसन्धान गरिरहेको छ ।
बस्नेतले आधारहीन विषय उठान गरेर समाजका प्रतिष्ठित राजनीतिज्ञहरूलाई गाली गरेर भिडियो पोस्ट गर्ने गरेको भेटिएको छ । त्यस्तै टिकटक लाइभमा उनले मधेसी समुदायलाई होच्याएर बोल्ने गरेको भेटिएको छ ।
ब्युरोका अनुसार उनले नियोजित रूपमा सामाजिक सञ्जालमा संवेदनशील विषयवस्तुहरू राखेर जातीय द्वन्द्व निम्त्याउने, चरित्र हत्या हुने खालका सामग्री पोस्ट गर्ने र संस्थागत छविमा आँच पुर्याउने काम गरिरहेकी थिइन्। प्राविधिक विश्लेषण र अनुसन्धानबाट संलग्नता पुष्टि भएपछि उनलाई आइतबार भक्तपुरबाट पक्राउ गरिएको ब्युरोले जनाएको छ ।