वीरगञ्ज । डिजिटल वित्तीय सेवामा पहुँच पुर्याउने र सुरक्षा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले पर्साको वीरगञ्जमा एकदिने वित्तीय तथा डिजिटल साक्षरता कार्यक्रम सम्पन्न भएको छ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था र डिजिटल भुक्तानी प्रदायक ईसेवा (eSewa) को संयुक्त आयोजनामा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
तालिममा डिप्रोक्स लघुवित्तका १०० जनाभन्दा बढी सदस्यहरूको सहभागिता रहेको थियो । कार्यक्रमको मुख्य उद्देश्य ग्रामीण तथा शहरी क्षेत्रका महिला सदस्यहरूलाई डिजिटल कारोबारप्रति विश्वस्त बनाउनु र आधुनिक भुक्तानी प्रणालीमा आबद्ध गराउनु रहेको आयोजकले जनाएका छन्।
सुरक्षित डिजिटल कारोबार र इएमआई भुक्तानी तालिममा सदस्यहरूलाई मोबाइल बैंकिङ र ईसेवाको प्रयोग गरी कसरी सुरक्षित रूपमा वित्तीय कारोबार गर्ने भन्नेबारे प्रयोगात्मक जानकारी दिइएको थियो ।
विशेष गरी:-
डिजिटल इएमआई भुक्तानी: संस्थाको मासिक किस्ता (EMI) ईसेवामार्फत घरमै बसेर सहजै भुक्तानी गर्ने तरिका।
वित्तीय अनुशासन: समयमै किस्ता भुक्तानी गर्दा हुने लाभ र यसले सिर्जना गर्ने वित्तीय अनुशासन।
सुरक्षा सावधानी: डिजिटल कारोबार गर्दा पिन (PIN) र पासवर्डको सुरक्षा तथा सम्भावित ठगीबाट बच्ने उपायहरू।
सदस्यहरूको उत्साहजनक सहभागिता तालिममा सहभागी सदस्यहरूले डिजिटल भुक्तानी प्रणाली र सुरक्षा सावधानीबारे महत्वपूर्ण जानकारी प्राप्त गरेको बताएका छन् । प्रविधिको प्रयोगले समयको बचत हुनुका साथै वित्तीय व्यवस्थापनमा सकारात्मक सोचको विकास भएको उनीहरूको प्रतिक्रिया थियो । सहभागीहरूले आगामी दिनमा आफ्ना कारोबारहरूलाई डिजिटल माध्यमबाटै गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
लघुवित्तले यस्ता कार्यक्रममार्फत आफ्ना सदस्यहरूलाई प्रविधिमैत्री बनाउँदै वित्तीय समावेशीकरणमा टेवा पुर्याउने लक्ष्य लिएको छ । डिजिटल साक्षरताको विस्तारले ग्रामीण अर्थतन्त्रलाई औपचारिक वित्तीय प्रणालीमा जोड्न थप मद्दत पुग्ने विश्वास गरिएको छ ।