गण्डकी प्रदेश महिला टी-२० क्रिकेटको उपाधि स्याङजाले जित्यो

काठमाडाैँ । स्याङजा जिल्ला महिला क्रिकेट टिमले गण्डकी प्रदेश टी–२० महिला क्रिकेट प्रतियोगिताको जितेको छ । यो जितसहित स्याङजाको लगातार दोस्रो जित हात पार्दै उपाधि रक्षा गरेको हो ।

पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा शनिबार सम्पन्न फाइनलमा स्याङजाले कास्कीलाई ७ विकेटले पराजित गरेको छ । गण्डकी प्रदेश क्रिकेट संघको आयोजनामा भएको प्रतियोगिताको फाइनल खेलमा कास्कीले दिएको ५७ रनको लक्ष्य स्याङजाले १०.३ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्‍यो । बिजेता टिमले उपाधिसहित नगद १ लाख रुपैयाँ प्राप्त गर्दा उपबिजेता कास्कीले ५० हजार रुपैयाँमा चित्त बुझाएको छ ।

लक्ष्य पछ्याउने क्रmमा स्याङजाको जितमा सिमाना केसीले अविजित १७ रनको योगदान दिइन् । उनले २२ बल खेल्दै १ चौका प्रहार गरिन् । कुशुम गोदार ११ रनमा अविजित रहिन् भने ओपनर श्रेया शाह ५, सलिना सेन ६ र ज्योत्सना मरासिनी ६ रनमा आउट भए । कास्कीका रचना चौधरी र यशोदा भुजेलले समान १–१ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको कास्कीले १६ ओभरमा सबै विकेट गुमाउँदै जम्मा ५६ रन मात्र बनाउन सक्यो । कास्कीका लागि रेखा तामाङले २४ र रचना चौधरीले १४ रनको योगदान दिइन् । रेखाले २८ बलमा २ चौका र १ छक्का प्रहार गरिन् भने रचनाले २५ बलमा २ चौका प्रहार गरिन् ।

त्यस्तै सिर्जना पौडेल ५ रनमा आउट भइन् भने विनिता नेपाली, शिखा दवाडी, रिया तामाङ, यशोदा भुजेल, सुशिला डिम्टुक र सोनिमा पुन शून्य रनमै आउट भए । स्याङजाका लागि अपेक्षा बुढाथोकीले ३ ओभरमा ६ रन खर्चेर ४ विकेट लिइन् भने सिमाना केसीले ४ ओभरमा १३ रन खर्चेर ३ विकेट हात पारिन् ।

उत्कृष्ट प्रदर्शनका आधारमा स्याङजाकी सिमाना केसीलाई खेलको ‘वुमन अफ दी म्याच’ तथा ‘सर्वोत्कृष्ट बलर’ घोषित भए । कास्कीकी सिर्जना पौडेल ‘सर्वोत्कृष्ट ब्याटर’ तथा सोनिमा पुन मगर ‘उदियमान खेलाडी’ घोषित भइन् ।

चार दिनसम्म चलेको प्रतियोगितामा गण्डकी प्रदेशका स्याङजा, कास्की, नवलपुर र पर्वत जिल्लाका टिमहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै