
काठमाडौँ । नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) भूपेन्द्र पाण्डेले वित्तीय क्षेत्रको संवेदनशीलता बुझेर मात्रै सूचना सम्प्रेषण गर्न पत्रकारहरूलाई आग्रह गरेका छन् ।
नबिल बैंकको सहयोगमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले काठमाडौँमा आयोजना गरेको दुई दिने ‘एडभान्स बैंकिङ ट्रेनिङ फर इकोनोमिक जर्नालिस्ट’ कार्यक्रमको शुक्रबार उद्घाटन समारोहमा बोल्दै पाण्डेले यस्तो बताएका हुन् ।
उनले वित्तीय क्षेत्रलाई लिएर अहिले धेरै नकारात्मक सूचनाहरू आइरहेको र त्यसलाई राम्रोसँग नबुझी गरिने सूचना सम्प्रेषणले समग्र क्षेत्रमा असर पार्ने औंल्याए। “तसर्थ, राम्रोसँग बुझेर सकारात्मक सूचना सम्प्रेषण गर्नुपर्नेछ,” उनले भने ।
पाण्डेले आर्थिक समृद्धिमा संवाहकको भूमिका खेलिरहेका पत्रकारहरूले बैंकजस्ता संवेदनशील क्षेत्रको बारेमा सकारात्मक सूचना प्रवाह गर्नुपर्नेमा जोड दिए। आर्थिक पत्रकारमार्फत नै वित्तीय साक्षरताले सार्थकता पाउने उनको भनाइ थियो ।
“वित्तीय साक्षरताका लागि जति कार्यक्रम ल्याए पनि पुगेको छैन । बैंकबाट ऋण लिएर तिर्नु पर्दैन भन्छन्,” उनले भने, “यो अवस्थामा वित्तीय साक्षरता अघि बढाउन आवश्यक छ। त्यसमा आर्थिक पत्रकारको भूमिका पनि महत्त्वपूर्ण छ ।”
मुलुकको आर्थिक अवस्था सुधार गर्न सही ढंगले समाचार प्रकाशन गर्नुपर्नेमा पनि उनले जोड दिए। “अहिले मुलुकको आर्थिक स्थिति त्यति राम्रो छैन। यस्तो बेलामा सकारात्मक ढंगले समाचार सम्प्रेषण गर्नुपर्छ,” उनले भने, “सञ्चारमाध्यमले प्रवाह गर्ने सूचनाले बजारमा गहिरो प्रभाव पार्छ। तसर्थ, आर्थिक अवस्थामा सुधार ल्याउन सहयोग पुग्ने गरी सूचना प्रवाह गर्नुपर्छ ।”