टाइम फर्मास्युटिकल्स र नेप्सेबीच सम्झौता: बुक विल्डिङमार्फत ४ लाख ३४ हजार कित्ता सेयर संस्थागत लगानीकर्तालाई जारी गरिँदै

काठमाडौँ । नवलपरासीको गैँडाकोटमा प्रधान कार्यालय रहेको टाइम फर्मास्युटिकल्स लिमिटेड र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बीच शिलबन्दी बोलपत्र (Sealed Bid) सम्बन्धी कार्य सञ्चालनका लागि सम्झौता सम्पन्न भएको छ । कम्पनीले बुक विल्डिङ विधिमार्फत साधारण सेयर निष्कासन गर्ने प्रक्रिया अन्तर्गत यो महत्वपूर्ण सम्झौता गरेको हो ।

सम्झौता पत्रमा नेप्सेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चुडामणी चापागाई र टाइम फर्मास्युटिकल्सका तर्फबाट प्रबन्ध सञ्चालक सुदर्शन लाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

बुक विल्डिङ विधि र सेयर निष्कासनको योजना

टाइम फर्मास्युटिकल्सले कुल १० लाख ८६ हजार ५०० कित्ता साधारण सेयर निष्कासन गर्ने तयारी गरेको छ, जसको कुल मूल्य १० करोड ८६ लाख ५० हजार रुपैयाँ (अंकित मूल्य रु. १००) रहेको छ । बुक विल्डिङ निर्देशिका, २०७७ को प्रावधान अनुसार सेयर निष्कासनलाई दुई चरणमा विभाजन गरिएको छ:

संस्थागत लगानीकर्ता (४० प्रतिशत):

कुल निष्कासनको ४० प्रतिशत अर्थात् ४ लाख ३४ हजार ६०० कित्ता सेयर योग्य संस्थागत लगानीकर्ताहरूका लागि शिलबन्दी बोलपत्रमार्फत बिक्री गरिनेछ। यसका लागि नेप्सेले बोलपत्र दर्ता गर्ने, खोल्ने र निर्णय गर्ने कार्यमा सहजीकरण गर्नेछ।

सर्वसाधारण (६० प्रतिशत):

बाँकी ६० प्रतिशत सेयर पछि सार्वजनिक निष्कासन (IPO) मार्फत सर्वसाधारणका लागि जारी गरिने कम्पनीले जनाएको छ।

सेयर निष्कासन पश्चात् कम्पनीको चुक्ता पुँजी ५३ करोड रुपैयाँ पुग्नेछ। यस प्रक्रियाका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले बिक्री प्रबन्धकको जिम्मेवारी सम्हालेको छ।

कम्पनीको संक्षिप्त परिचय

विगत ३० वर्षदेखि सञ्चालनमा रहेको टाइम फर्मास्युटिकल्स नेपालको एक स्थापित औषधि उत्पादक कम्पनी हो। नवलपरासीको गैँडाकोटमा उत्पादन प्लान्ट रहेको यस कम्पनीले डब्लुएचओ-जीएमपी (WHO-GMP) प्रमाणीकरण प्राप्त गरेको छ ।

हाल यसले २०० भन्दा बढी गुणस्तरीय औषधिहरू उत्पादन गर्दै आएको छ भने करिब ३०० जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरिरहेको छ ।

सम्झौता कार्यक्रममा कम्पनी सचिव अधिवक्ता सुदिप घिमिरे र नबिल इन्भेष्टमेन्टका तर्फबाट मनोहर कडेलको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै