सेयर बजारमा सामान्य गिरावट, यी ६ कम्पनीमा लाग्यो सर्किट

काठमाडौँ । मंगलबार सेयर बजारमा सामान्य गिरावट देखिएको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार ८३ अंक बढेर बन्द भएको नेप्से, यस दिन भने सामान्य अंक घटेर बन्द भएको हो ।

नेप्से परिसूचक आज २.६१ अंकले घटेर २७५७.४० मा पुगेको हो । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.७८ अंक, फ्लोट इण्डेक्स ०.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३२ अंक घटेको छ।

आज कुल १ करोड ७४ लाख ६ हजार कित्ता सेयर ६ अर्ब ७३ करोड ७१ लाख रुपैयाँमा कारोबार भएका छन् । बजारमा यस दिन ३४५ स्टकको ८१ हजार ५८२ पटकको कारोबारमा १ करोड ७४ लाख ६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । यस दिन ८२ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १७५ कम्पनीको मूल्य घटेको छ । १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । सोमबार १० अर्ब ९२ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको थियो। नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ ।

त्यसैगरी, भुजुङ हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको शेयर १० प्रतिशतले सर्किट लागेको छ । रिज लाइन इनर्जी र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकमा ९.९९ प्रतिशत र होटल फरेष्ट इन्नमा ९.९८ प्रतिशतले सर्किट लागेको छ । होटल फरेष्ट इनको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, यस दिन त्रिशुली जलविद्युत कम्पनीको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी बढेको छ।

मंगलबार कारोबारमा आएको एनआईबिएल ग्रोथ फण्डको इकाईमूल्य यस दिन सर्वाधिक ७.०८ प्रतिशत घटेको छ। मूल्य घटेका अन्य स्टकहरुको गिरावटदर भने ४ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा मंगलबार ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन २४ करोड २२ लाख ६१ हजार रुपैयाँबराबरको शेयर किनबेच भएको छ । त्यस्तै, यस दिन रिलायन्स स्पिनिङ्ग मिल्सको कारोबार रकम २४ करोड रुपैयाँ नाघेको छ भने आँखु खोला जलविद्युत कम्पनीको साढे २३ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ ।

मंगलबार १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ । यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.०८ प्रतिशत बढेको छ । बैंकिङ्ग, हाइड्रोपावर र अन्य उपसमूहको परिसूचक सामान्य बढेको हो । कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.८८ प्रतिशत घटेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै