काठमाडौँ । ५५ नम्बरको धितोपत्र दलाल कम्पनी ‘भृकुटी स्टक ब्रोकिङ’ ले आफ्नो कम्पनीका विरुद्ध सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यममा फैलिएका समाचारहरूको खण्डन गरेको छ । कम्पनीले एक सार्वजनिक सूचना जारी गर्दै अप्रमाणित हल्लाको पछि नलाग्न लगानीकर्ताहरूलाई आग्रह गरेको हो ।
विगत केही समयदेखि कम्पनी निलम्बनमा परेको र कारोबार रद्द भएको भन्दै आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै भृकुटी स्टकले हालसम्म नियामक निकायबाट त्यस्तो कुनै आधिकारिक निर्देशन प्राप्त नभएको स्पष्ट पारेको छ ।
कम्पनीको आधिकारिक धारणा:
कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा फैलिरहेका अप्रमाणित हल्ला वा भ्रामक सूचनामा विश्वास नगर्न सम्पूर्ण लगानीकर्ताहरूलाई हार्दिक अनुरोध गर्दछौँ। हालसम्म नियामक निकायहरूबाट कारोबार रद्द वा निलम्बन सम्बन्धी कुनै पनि आधिकारिक सूचना वा निर्देशन हाम्रो कम्पनीलाई प्राप्त भएको छैन ।”
लगानीकर्तालाई आश्वस्त पार्ने प्रयास
सेयर बजारमा लगानीकर्ताहरू त्रसित (Panic) भइरहेको अवस्थालाई मध्यनजर गर्दै कम्पनीले आफ्नो विश्वसनीयतामाथि शंका नगर्न आग्रह गरेको छ । कम्पनीले प्रचलित कानुन र नियामक निकायका निर्देशनहरूको पूर्ण पालना गर्दै पारदर्शी रूपमा सेवा दिइरहेको दाबी समेत गरेको छ ।
पछिल्लो समय केही ठूला लगानीकर्ताको कारोबार र भुक्तानी प्रक्रियालाई लिएर भृकुटी स्टकमाथि सम्पत्ति शुद्धीकरण विभाग र धितोपत्र बोर्डले निगरानी बढाएको समाचार बाहिरिएपछि कम्पनीले यो औपचारिक स्पष्टीकरण सार्वजनिक गरेको हो ।
५५ नम्बरको भृकुटी स्टक ब्रोकिङ निलम्बनमा: ‘उधारो’ मा सेयर किनबेच गराएको आरोप