५५ नम्बरको भृकुटी स्टक ब्रोकिङ निलम्बनमा: ‘उधारो’ मा सेयर किनबेच गराएको आरोप

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ५५ नम्बरको धितोपत्र दलाल कम्पनी ‘भृकुटी स्टक ब्रोकिङ’ लाई निलम्बन गरेको छ । विवादास्पद व्यवसायी दीपक भट्टलाई नियमविपरीत उधारोमा सेयर किनबेच गराएको र भुक्तानी प्रक्रियामा गम्भीर लापरबाही गरेको आरोपमा बोर्डले यस्तो निर्णय लिएको हो ।

बोर्डका सञ्चालक आनन्दराज शर्माले सोमबारको बैठकले उक्त कम्पनीलाई निलम्बन गर्ने निर्णय गरेको पुष्टि गरे। शर्माले भने, “हिजो बसेको बोर्ड बैठकले अर्को निर्णय नहुन्जेलसम्मका लागि ५५ नम्बरको भृकुटी स्टक ब्रोकिङलाई निलम्बन गर्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।”

सम्पत्ति शुद्धीकरण विभागको छानबिन र कैफियत

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको छानबिनका क्रममा भृकुटी स्टकले गम्भीर वित्तीय विचलन गरेको भेटिएपछि बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई कारबाहीका लागि पत्राचार गरेको थियो । विभागका अनुसार, दीपक भट्टले नेपाल पुनर्बीमा कम्पनी लगायतको सेयर खरिद गर्दा आफ्नो बैंक खाताबाट नभई अन्य विभिन्न व्यक्ति र शंकास्पद खाताहरूबाट भुक्तानी गरेको पाइएको थियो ।

मुख्य आरोपहरू:

उधारो कारोबार:

धितोपत्र कारोबारको विद्यमान व्यवस्था अनुसार सेयर खरिद गर्नुअघि ब्रोकरले लगानीकर्ताबाट कम्तीमा २५ प्रतिशत पेस्की (मार्जिन) रकम लिनुपर्ने प्रावधान उल्लंघन ।

तेस्रो पक्ष भुक्तानी:

वास्तविक लगानीकर्ताको खाताबाट नभई तेस्रो व्यक्तिको खाताबाट भुक्तानी स्वीकार गरी सम्पत्ति शुद्धीकरणसम्बन्धी जोखिम बढाएको ।

नियमनकारी बेवास्ता:

कारोबारको उच्च जोखिम र शंकास्पद भुक्तानी प्रक्रियालाई नजरअन्दाज गरेको ।

लगानीकर्तामा पर्ने प्रभाव

बोर्डको यो निर्णयसँगै भृकुटी स्टकले अर्को आदेश नभएसम्मका लागि कुनै पनि सेयर कारोबार गर्न पाउने छैन । काठमाडौँसहित देशका विभिन्न १० स्थानबाट सेवा प्रवाह गर्दै आएको यस कम्पनीका ग्राहकहरू बोर्डको यो आकस्मिक निर्णयबाट प्रत्यक्ष प्रभावित हुने भएका छन् । अब ती ग्राहकहरूको सेयर र राफसाफको प्रक्रिया कसरी अघि बढ्छ भन्नेबारे बोर्डले थप प्रस्ट पार्न बाँकी छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै