काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा उत्साहजनक सुधार देखिएको छ । पछिल्ला दिनहरूमा सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा व्यवसायीहरू पक्राउ पर्न थालेपछि त्रसित बनेको बजार, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सकारात्मक आश्वासनपछि बाउन्स ब्याक भएको हो ।
आइतबार १०५ अंकको भारी गिरावट खेपेको नेप्से परिसूचक सोमबार ८३.३३ अंकले बढेर २७६०.०२ विन्दुमा पुगेको छ । यस्तै, सेन्सेटिभ इण्डेक्स १४.३० अंक, फ्लोट इण्डेक्स ६.०१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ५.०३ अंकले बढेको छ ।
अर्थमन्त्रीको भेट र बजारको मनोविज्ञान
सोमबार बिहान स्टक ब्रोकर एशोसिएसनका प्रतिनिधिहरूले अर्थमन्त्री डा. वाग्लेलाई भेटेर बजारको अवस्थाबारे जानकारी गराएका थिए । उक्त भेटमा मन्त्री वाग्लेले सरकार निजी क्षेत्र र पुँजीबजार मैत्री रहेको बताउँदै ‘इन्साइडर ट्रेडिङ’ र ‘म्यानिपुलेसन’ जस्ता अनैतिक कार्य नगर्ने लगानीकर्ता प्यानिक हुनु नपर्ने आश्वासन दिएका थिए । मन्त्रीको सोही भनाइले लगानीकर्तामा आत्मविश्वास बढेको जानकारहरू बताउँछन् ।
सेयर बजारमा ‘प्यानिक’ नहुनुस्, निजी क्षेत्रमाथि धरपकड गर्ने नीति छैन: अर्थमन्त्री डा. वाग्ले
कारोबार विवरण
परिसूचक उच्च अंकले बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही घटेको छ । आइतबार १२ अर्ब ३८ करोड रुपैयाँको सेयर किनबेच भएकोमा सोमबार ३४५ कम्पनीको २ करोड ५१ लाख ५५ हजार कित्ता सेयर १० अर्ब ९२ करोड ८५ लाख ६ हजार रुपैयाँमा कारोबार भएको छ ।
सर्किट लाग्ने र धेरै कारोबार हुने कम्पनी
आज ८ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट (१० प्रतिशतको वृद्धि) लागेको छ । जसमा निम्न कम्पनीहरू रहेका छन्:
-उपकार लघुवित्त,
-भुजुङ हाइड्रोपावर,
-रिडी हाइड्रोपावर,
-नेशनल हाइड्रोपावर,
-सुपर खुदी हाइड्रोपावर,
-रिज लाइन इनर्जी,
-सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक
र होटल फरेस्ट इन ।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स १ अर्ब १३ करोड ५८ लाख रुपैयाँसहित शीर्ष स्थानमा रह्यो । यस्तै, हिमालयन रि-इन्स्योरेन्सको ५५ करोड र एनआरएन इन्फ्रास्ट्रक्चरको ४८ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।
अर्थमन्त्री डा. वाग्ले र स्टक ब्रोकर एशोसिएसनबीच भेट: साना लगानीकर्ताको हितमा चासो
उपसमूहको अवस्था
सोमबार कारोबार भएका १३ वटै उपसमूहको परिसूचक बढेर बजारमा हरियाली छाएको छ ।
| उपसमूह | वृद्धि प्रतिशत |
| जलविद्युत् | ४.५९% |
| वित्त (फाइनान्स) | ४.००% |
| बैंकिङ, विकास बैंक, होटल, लगानी | ३.००% भन्दा माथि |