सेयर बजारमा ‘प्यानिक’ नहुनुस्, निजी क्षेत्रमाथि धरपकड गर्ने नीति छैन: अर्थमन्त्री डा. वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर बजारका लगानीकर्तालाई नआत्तिन आग्रह गर्दै निजी क्षेत्रप्रति सरकारको दृष्टिकोण स्पष्ट पारेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको छलफलमा उनले बजार सुधारका लागि सरकार सक्रिय रहेको र अफवाहको पछि नलाग्न अनुरोध गरे ।

बजारमा ‘इन्साइडर ट्रेडिङ’ बाहेक अन्यमा धरपकड हुँदैन

अर्थमन्त्री वाग्लेले सेयर बजारमा फैलिएको त्रास र सम्भावित धरपकडको हल्ला निराधार रहेको बताए । उनले भने, “सरकारले साना लगानीकर्तामाथि कुनै कारबाही गर्ने उद्देश्य राखेको छैन । बजारलाई आतंकित बनाउने काम भइरहेको छ, जुन उचित होइन । कसैले ‘इन्साइडर ट्रेडिङ’, म्यानिपुलेसन वा अन्य अनैतिक काम गरेको छ भने मात्र कानुनअनुसार कारबाही हुन्छ, अन्यथा सामान्य लगानीकर्ता डराउनुपर्दैन ।”

उनले नेपालको सेयर बजार अन्य क्षेत्रभन्दा बढी व्यवस्थित, पारदर्शी र डिजिटल रहेको उल्लेख गर्दै यसलाई सरकारले ‘डिजिटलाइजेसन’को नमुना क्षेत्रका रूपमा लिएको बताए।

नेप्सेको पुनर्संरचना र आगामी सुधार

पुँजी बजार सुधारका लागि नेप्सेको पुनर्संरचना प्रतिवेदन अध्ययन गरी कार्यान्वयनमा लैजाने मन्त्री वाग्लेको प्रतिबद्धता छ । उनले राष्ट्रिय स्वतन्त्र पार्टीको बाचापत्रमा उल्लेखित बुँदाहरूलाई समेत ध्यानमा राख्दै लगानीकर्तामैत्री उदार नीति सुनिश्चित गर्ने बताए । “अहिले बजार घटेको अवस्थामा प्यानिक हुनु आवश्यक छैन, बजारमा छिट्टै सकारात्मक सुधार देखिनेछ,” उनले थपे ।

वित्तीय अपराध र ‘ग्रे लिस्ट’ को चुनौती

सम्पत्ति शुद्धीकरण र वित्तीय अपराधका मुद्दाबारे स्पष्ट पार्दै अर्थमन्त्रीले अनुसन्धानहरू अकाट्य प्रमाणमा आधारित हुने उल्लेख गरे । उनको भनाइ थियो, “हाम्रो लक्ष्य ‘ह्वाइट(कलर क्राइम’ लाई आर्थिक जरिवानासहित कानुनी दायरामा ल्याउनु हो। कुनै संस्था वा व्यक्तिलाई पूर्वाग्रह राखेर दुःख दिने नियत छैन । अपराधीलाई छुट दिइँदैन, तर समग्र निजी क्षेत्रमाथि धरपकड गर्ने सरकारको नीति छैन।”

नेपाललाई अन्तर्राष्ट्रिय स्तरको ‘ग्रे लिस्ट’ (खैरो सूची) बाट जोगाउनु सरकारको पहिलो प्राथमिकता रहेको उनले बताए । यसका लागि कागजमा मात्र नभई व्यवहारमै ठोस कदम चालिसकिएको उनको दाबी छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै