काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र नेपाल स्टक ब्रोकर एशोसिएसनका प्रतिनिधिबीच सोमबार अर्थ मन्त्रालयमा भेटवार्ता भएको छ । करिब आधा घण्टा चलेको उक्त भेटमा सेयर बजारका पछिल्ला गतिविधि र बजारमा देखिएको गिरावटबारे छलफल भएको छ ।
एशोसिएसनका महासचिव भक्तिराम घिमिरेका अनुसार नयाँ सरकार गठनपछि पनि बजारमा निरन्तर आएको गिरावट र त्यसबाट साना लगानीकर्तामा परेको मर्काका विषयमा अर्थमन्त्रीसँग गम्भीर छलफल भएको हो ।
ब्रोकर एशोसिएसनका माग र ध्यानाकर्षण
एशोसिएसनले बजार धेरै घटेपछि पुनः उठाउन कठिन हुने भन्दै पुँजीबजारका विषयमा सरकारको स्पष्ट धारणा सार्वजनिक गर्न माग गरेको छ । भेटमा महासचिव घिमिरेले पछिल्लो समय सम्पत्ति शुद्धीकरणको अनुसन्धानका नाममा व्यवसायीहरूलाई भइरहेको धरपकडले बजार त्रसित बनेको र त्यसको प्रत्यक्ष असर परिसूचकमा देखिएको तर्फ मन्त्रीको ध्यानाकर्षण गराए ।
एशोसिएसनले अर्थमन्त्री समक्ष राखेका मुख्य मागहरू:
नीतिगत स्पष्टता: पुँजीगत लाभकर ‘अन्तिम’ हो कि ‘अग्रिम’ हो भन्ने विषयमा रहेको अन्योल चिर्नुपर्ने।
लगानी सहजता: बैंक तथा वित्तीय संस्थालाई सेयर लगानीमा लगाइएको ६ महिनाको समय सीमा (क्याप) हटाउनुपर्ने।
एनआरएन प्रवेश: गैर-आवासीय नेपालीहरूलाई सेयर बजारमा सहजै भित्र्याउने वातावरण बनाउनुपर्ने।
फण्ड कार्यान्वयन: निष्क्रिय रहेको ‘सेटलमेन्ट ग्यारेन्टी फण्ड’ कार्यान्वयनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेप्सेलाई निर्देशन दिनुपर्ने।
लगानीकर्तालाई निराश नहुन अर्थमन्त्रीको आग्रह
ब्रिफिङ सुनेपछि अर्थमन्त्री डा. वाग्लेले सेयर बजारका समस्या समाधानमा सरकार सकारात्मक रहेको बताए । उनले बजारमा देखिएको अस्थिरतालाई सम्बोधन गर्न आवश्यक पहल गर्ने आश्वासन दिँदै लगानीकर्ताहरूलाई नआत्तिन र निराश नहुन आग्रह गरे ।