नेप्सेमा २६ अङ्कको गिरावट, कारोबार रकम झण्डै १२ अर्ब

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार दोहोरो अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज परिसूचक २६.०७ अङ्कले घटेर २ हजार ७९८.८३ बिन्दुमा ओर्लिएको हो। यो अघिल्लो दिनको तुलनामा ०.९२ प्रतिशतको गिरावट हो।

आइतबार ४.४५ अङ्कले बढेर २ हजार ८२४.९० बिन्दुमा पुगेको नेप्से, साताको दोस्रो कारोबार दिनमै पुनः २८०० को मनोवैज्ञानिक बिन्दुभन्दा तल झरेको छ। परिसूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ। आइतबार रु. १४ अर्ब ३२ करोड ९६ लाखको कारोबार भएकोमा आज रु. ११ अर्ब ९७ करोड ४६ लाख ९६ हजार बराबरको मात्र शेयर खरिदबिक्री भएको छ।

उपसूचकहरूको अवस्था

आज १३ उपसूचकमध्ये उत्पादन तथा प्रशोधन समूह मात्र ०.२५ प्रतिशतले बढेको छ भने बाँकी १२ वटै समूहको उपसूचक ऋणात्मक देखिएका छन्। सबैभन्दा बढी बैङ्किङ समूह १.६१ र लगानी समूह १.५२ प्रतिशतले घटेका छन्। त्यस्तै जलविद्युत्, जीवन बिमा, लघुवित्त र व्यापार समूहमा पनि १ प्रतिशत हाराहारीको गिरावट देखिएको छ।

धेरै कमाउने र गुमाउने कम्पनी

बजार घटे पनि आज चार कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, अपर हेवाखोला हाइड्रोपावर र सोलु हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले बढेको हो। यता सिद्धार्थ इक्विटी फन्डका लगानीकर्ताले सबैभन्दा बढी ४.३९ प्रतिशतले गुमाएका छन्।

कारोबारको अवस्था

आज ३४५ कम्पनीका ३ करोड ७ लाख ९० हजार २११ कित्ता शेयर १ लाख २ हजार ७५९ पटक खरिदबिक्री भए। कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत् कम्पनी रु. ६८ करोड ७७ लाखसहित शीर्ष स्थानमा रह्यो भने शेयर सङ्ख्याका आधारमा नेसनल हाइड्रोपावरको सबैभन्दा धेरै २२ लाख ७२ हजार कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै