बेनी हाइड्रोपावरको आईपीओ बिक्री खुल्यो

काठमाडौँ । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आज चैत १ गतेदेखि प्रथम चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ बिक्री खुला गरेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २० लाख ८० हजार कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको छ । सोमध्ये १० लाख ४० हजार कित्ता आयोजना प्रभावितका लागि र १ लाख ४ हजार कित्ता वैदेशिक रोजगारेका लागि निष्काशन गरेको हो ।

आयोजना प्रभावितलाई छुट्याइएको शेयरमध्ये ५ लाख २० हजार कित्ता अति प्रभावित अर्थात सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका वडा नम्बर २, ३ र ४ का स्थानीयले, ३ लाख १२ हजार कित्ता प्रभावित अर्थात सोलुदूधकुण्ड नगरपालिकाको वडा नम्बर ५, ६, ७ र ११ का स्थानीयले र २ लाख ८ हजार कित्ता न्यून प्रभावित अर्थात सोलुखुम्बुको अन्य क्षेत्रका स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन् ।

यसमा आवेदन दिँदा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिनेछ। आयोजना प्रभावितले चैत १५ गतेसम्म र वैदेशिक रोजगारेले चैत ५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावितले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सदस्य पाएका सबै बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरू, एनएमबि बैंक र लक्ष्मी सनराइज बैंकको सल्लेरी शाखा, ग्लोबल आइएमई बैंकको सोलुखुम्बर शाखा र प्राइम कमर्सियल बैंकको नेचा सल्यान शाखा कार्यालयमा आवेदन फाराम पाउन र बुझाउन सक्नेछन् ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले शेयर खरिद दरखास्त फाराम प्राप्त गर्नका लागि २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले विकास गरेको मेरो शेयर मोबाइल एप तथा वेवसाइट र नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट पनि आवेदन दिन सक्नेछन् ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले सोलुखुम्बुको सोलु खोलामा १९.८ मेगावाट क्षमताको अप्पर सोलु खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८० असारदेखि विद्युत उत्पादन गरिरहेको छ । कम्पनीको अध्यक्ष गणेश कार्की हुन् भने अन्य संचालकमा यम कुमार श्रेष्ठ, हिरेन्द्र मान प्रधान, सोनाम छेरिङ शेर्पा, र पेम्बा गेल्बु शेर्पा रहेका छन्। कम्पनीका सीइओ समन मानन्धर हुन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै