काठमाडौँ । पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक शेयर (आईपीओ) शुक्रबार बिहान बाँडफाँड गरिएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालयमा गोलाप्रथामार्फत शेयर बाँडफाँड भएको हो ।
कम्पनीले फागुन १२ देखि १५ गतेसम्म ४५ लाख कित्ता शेयर सर्वसाधारणका लागि खुला गरेको थियो । नबिल इन्भेष्टमेन्टका अनुसार यस आईपीओमा कुल २४ लाख १३ हजार ५१७ जनाले आवेदन दिएका थिए। जसमध्ये २३ लाख ७६ हजार ७०५ जनाको आवेदन मात्र योग्य ठहरिएको छ ।
मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथामार्फत ४ लाख ५० हजार जना आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। आवेदन दिएकामध्ये करिब १९ लाख २६ हजार जनाको हात खाली भएको छ ।
कसरी हेर्ने नतिजा ?
आईपीओ बाँडफाँडको अन्तिम नतिजा केही समयपछि निम्न माध्यमबाट हेर्न सकिनेछ:
१. सिडिएससीको आईपीओ पोर्टल: iporesult.cdsc.com.np
२. बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टको वेबसाइट:IPO Allotment
३. मेरो शेयरको ‘Application Report‘ खण्ड
कम्पनीको संक्षिप्त जानकारी
सन् २००९ मा स्थापना भएको पाल्पा सिमेन्टको फ्याक्ट्री नवलपरासीमा रहेको छ। यसले ‘तानसेन’ ब्राण्डमा पीपीसी, ओपीसी र पीएससी सिमेन्ट उत्पादन गर्दै आएको छ । आरएमसी (RMC) ग्रुपको लगानी रहेको यस कम्पनीले कुल ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता शेयर निष्कासनका लागि धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।