डोलेश्वर भिलेज रिसोर्टले १६ लाख २० हजार कित्ता आईपीओ निष्काशन गर्ने

पुँजी वृद्धि र सुविधाहरू विस्तारका लागि विशेष साधारण सभा आह्वान

काठमाडौँ । भक्तपुरको डोलेश्वरमा सञ्चालित ‘डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस लिमिटेड’ ले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाएको छ ।

रिसोर्टले आफ्नो जारी पुँजीको ३० प्रतिशत बराबर हुन आउने १६ लाख २० हजार कित्ता सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न आज फागुन १७ गते विशेष साधारणसभा आह्वान गरेको छ ।

विशेष साधारणसभाले आईपीओ निष्काशनका लागि आवश्यक सम्पूर्ण कानुनी तथा प्राविधिक कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्नेछ। कम्पनीले यसअघि नै संस्थागत परामर्शदाताका रूपमा सिटिजन्स क्यापिटल लिमिटेडसँग सम्झौता गरिसकेको छ ।

भौतिक पूर्वाधार विस्तारमा जोड

वि.सं. २०७६ देखि व्यावसायिक सञ्चालनमा आएको यो रिसोर्ट भक्तपुरको डोलेश्वर महादेव मन्दिरबाट मात्र २०० मिटरको दूरीमा अवस्थित छ । १० रोपनी क्षेत्रफलमा फैलिएको यस रिसोर्टको हालको क्षमता र सुविधाहरू यस प्रकार छन्:

कोठा विस्तार: हाल सञ्चालनमा रहेका १५ वटा कोठालाई बढाएर ३५ पुर्‍याउने कार्य भइरहेको छ ।

नयाँ संरचना: स्वीमिङ पुल निर्माणको काम अन्तिम चरणमा पुगेको र चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

सभा हल: ३०० जनासम्म अट्ने क्षमता भएका साना–ठूला गरी ३ वटा सुविधासम्पन्न सभा हलहरू सञ्चालनमा छन् ।

रामनाथ मैनाली अध्यक्ष रहेको यस रिसोर्टले आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै विवाह, व्रतबन्ध, सेमिनार, गोष्ठी तथा पिकनिकका लागि विशेष प्याकेजहरू उपलब्ध गराउँदै आएको छ ।

आईपीओबाट संकलित पुँजीलाई रिसोर्टको स्तरोन्नति र सेवा विस्तारमा उपयोग गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै